भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहार र उत्तर प्रदेशको ग्रिडमार्फत ३५० मेगावाट विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई सोमबार सहमति दिएको छ ।
प्राधिकरणले बिहार र उत्तर प्रदेशसँग जोडिएका एक सय ३२ केभी क्षमताका नौ अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत् आयात गर्न सक्नेछ ।
आगामी जुन मसान्तसम्म आयात गर्न सकिने यसअन्तर्गत पनि साँझको पिक आवरको ६ देखि नौ बजेसम्म विद्युत् आयात गर्न पाइनेछैन । भारतले यसअघि केन्द्रीय ग्रिडमार्फत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६ सय मेगावाट र टनकपुर अन्तरदेशीय प्रसारणलाइनबाट ५४ मेगावाट गरेर ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणलाई सहमति दिएको थियो । त्यसको म्याद १५ मार्च ९२ चैत०सम्म रहेको छ ।
अब भारतबाट एक हजार चार मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति प्राप्त भएको छ । अहिले दिउँसोको समयमा चार सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब दिउँसो पर्याप्त मात्रामा विद्युत् आयात गरेर पिक आवरमा नेपालका अर्धजलाशय आयोजना सञ्चालन गरिने बताए ।
साझा अर्थ संवाददाता