पात्रो

रेडियो

समाचार खोजी

मडुरो भेनेजयुयलाका राष्ट्रपतिकोरुपमा चौथो कार्यकालका लागि अनुमोदित, विपक्षीद्वारा मतपरिणामलाई अस्वीकार

साझा अर्थ संवाददाता १४ साउन २०८१, सोमवार

काठमाडौंः भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित हुनुभएको छ । 
मडुरोले ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको र विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन परिषद्ले जनाएको छ ।
विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन् । 
 निर्वाचन परिषद्बाट मतपरिणामको घोषणापछि राष्ट्रपति मडुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ।  सम्बोधनमा उहाँले भन्नुभयो, “भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा म निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।”
तर भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्याङ्क (मत परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।
“हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ,” विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी बताउनुभयो । उहाँले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दावी गर्नुभयो । 
कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूणर्’ भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाउनुभएको छ भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनी प्रतिक्रिया दिनुभएको छ । 
पेरुले मतपरिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गर्नुभएको छ । (रासस)

237 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता