नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलाई लक्षित नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । तर, यस वर्ष सुकिला नोट मात्रै सटही गर्ने राष्ट्र बैंकको निर्णयपछि करिब रु. ४ अर्बको नोट मात्रै सटही भएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंकमातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोहीबराबरको नोट सटही भएको अनुमान छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न नपरेको उनको भनाइ छ ।
उनका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झन्डै डेढ अर्ब खर्च लागेको थियो । ‘देशभर ६६ लाख घरपरिवार छन् । त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभए पनि आधाका लागि विभिन्न दरका नोट छाप्न ६ अर्बसम्म खर्च हुन्छ,’ उनले भने ।
यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हाल चलनचल्तीमा रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । नयाँ नोट दसैँ–तिहारजस्ता पर्वमा मात्र अत्यधिक माग हुने तथा त्यसपछि बैंकका ढुकुटीमा थुप्रिएर बस्ने राष्ट्र बैंकको भनाइ छ । प्रत्येक वर्ष चाडबाडमा नयाँ नोट छापिने तथा घुमिफिरी ती नोट बैंकको ढुकुटीमा थुप्रिने क्रम बढेपछि बैँकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णय गरेको निर्देशक भट्टराईले बताए । पुराना नोट थिचिएर तथा ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलनचल्तीकै नोट उपयोग गर्न यसपटक नयाँ नोट नछापिएको उनको भनाइ छ ।
गत वर्ष छापिएकोभन्दा तीन गुणासम्म बढी नोट हाल बजारमा र बैंक ढुकुटीमा मौज्दात रहेकाले पनि नयाँ नोट निकाल्न नपरेको उनको तर्क छ । उनले भने, ‘नयाँ होस् पुरानो जे भए पनि नोटको मूल्य र महŒव एउटै हुन्छ । नयाँ भनेर राज्यलाई अतिरिक्त आर्थिक भार थप्न हुँदैन ।’ रासस
साझा अर्थ संवाददाता