काठमाडौँ, ३ असार :नेपाल राष्ट्र बैंकले आज असार ३ गतेदेखि लागू हुने गरी थप अत्याधुनिक सुरक्षा विशेषताहरू सहितको पाँच सय रुपैयाँको नयाँ नोट चलनचल्मातिमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार बजारमा आउने यो नयाँ नोटको आकार र रङ हाल चलनचल्तीमा रहेकै पाँच सयको नोट जस्तै हुनेछ। यो नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने यसको क्रमिक नम्बर 'झ ०००००१' देखि 'त ९९९९९९' सम्म तोकिएको छ।
यस पटक नोटको सुरक्षा र पहिचानलाई थप मजबुत बनाउन विशेष प्रविधिको प्रयोग गरिएको छ। नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप (वाटरमार्क) र आधुनिक सुरक्षा धागो राखिएको छ। यसको मुख्य विशेषता भनेको सगरमाथाको दायाँतर्फ कुबेरको चित्र राखिएको छ, जसलाई सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङमा परिवर्तन भएको देखिन्छ। यो अत्याधुनिक रङ परिवर्तन हुने चित्रले नक्कली नोटको कारोबारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने राष्ट्र बैंकको विश्वास छ।