काठमाडौँ, २ असार
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
कुल विनियोजित बजेटमध्ये पुँजीगततर्फ २० अर्ब ७४ करोड रुपैयाँ र चालुतर्फ ८ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो। यसैगरी, सरकारले वित्तीय व्यवस्थापनका लागि ५० करोड रुपैयाँ र स्थानीय तहहरूमा हुने वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ।
बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ८५ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, चालु आर्थिक वर्षको नगद मौज्दात (बचत) बाट क्रमशः ६४ करोड १० लाख र १ अर्ब ६ करोड ६० लाख रुपैयाँ तथा संघीय सरकारको राजस्व बाँडफाँटबाट १० अर्ब रुपैयाँ प्राप्त हुने मन्त्री शाहले उल्लेख गर्नुभएको छ। नयाँ बजेटले सन्तुलित वित्तीय व्यवस्थापन, पुँजीगत लगानी वृद्धि र स्थानीय तहसँगको समन्वयमा जोड दिएको छ।