काठमाडौं : चीनको कोरला नाका हुँदै नेपाल भित्र्याइएका बिवाइडीका ७७५ वटा विद्युतीय सवारी साधन झन्डै दुई हप्तापछि फुकुवा गरिएको छ। आयात प्रक्रिया र भन्सार जाँचपासमा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले ती गाडीहरू विभिन्न स्थानमा नियन्त्रणमा लिएको थियो।
जेठको दोस्रो र तेस्रो साता सशस्त्र प्रहरीका जोमसोम, कोरला, कास्की र पर्वतस्थित इकाइहरूले ती सवारी साधन नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिइएका गाडीहरू सरकारी छानबिनपछि क्रमशः सम्बन्धित गन्तव्यतर्फ पठाउन थालिएको छ।
सशस्त्र प्रहरीको नियन्त्रणमा पर्नुअघि नै मुस्ताङको नेचुङ भन्सार कार्यालयबाट ६४९ वटा गाडीको भन्सार जाँचपास भइसकेको थियो। तर आयात प्रक्रिया र राजस्वसम्बन्धी विषयमा आशंका उठेपछि गाडीहरू रोकिएका थिए।
त्यसपछि अर्थ मन्त्रालयले भन्सार विभागको मूल्यांकन शाखाका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
समितिले जेठ २१ गतेदेखि मुस्ताङ, कास्की र पर्वतमा पुगेर स्थलगत अनुसन्धान, कागजात परीक्षण र सोधपुछ गरेको थियो। प्रारम्भिक छानबिनमा आयात प्रक्रिया र भन्सार जाँचपासमा कानुनी कैफियत नदेखिएपछि सवारी साधन फुकुवा गर्ने प्रक्रिया अघि बढाइएको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशनपछि रोकिएका गाडीहरू गन्तव्यतर्फ पठाउन थालिएको जनाइएको छ।
जोमसोम बसपार्कमा रोकिएका २६६ गाडीमध्ये २२३ वटा गाडी आइतबार र सोमबार नै गन्तव्यतर्फ पठाइसकिएको छ। बाँकी गाडीहरू पनि आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित गन्तव्यतर्फ पठाइने बताइएको छ।
भन्सार जाँचपास हुन बाँकी रहेका अन्य गाडीहरूको प्रक्रिया पनि पूरा गरी बजारमा पठाइने भन्सार अधिकारीहरूको भनाइ छ।
पछिल्लो समय कोरला नाकाबाट विद्युतीय सवारी साधन आयात बढ्दै गएको छ। ठूलो संख्यामा गाडी भित्रिन थालेसँगै भन्सार मूल्यांकन, राजस्व संकलन, कागजात परीक्षण र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
यो घटनाले विद्युतीय सवारी आयातमा पारदर्शिता, राजस्व निगरानी र सीमा नाकाबीचको समन्वय प्रणालीलाई थप बलियो बनाउनुपर्ने विषय सतहमा ल्याएको छ।