काठमाडौँ, १ असार: भारतीय पक्षले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निकासीमा अवरोध गरेपछि आज सोमबारदेखि इलामका अर्थोडक्स चिया उद्योगहरू बन्द भएका छन्। भारतीय चिया बोर्डले जारी गरेको नयाँ 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर' का कारण भारतीय आयातकर्ताहरू नेपाली चिया खरिद गर्न हच्किँदा बजार ठप्प बनेको हो।
भारतीय भन्सारमा नमुना संकलन गरी परीक्षण रिपोर्ट आउन १५ देखि २० दिन लाग्ने झन्झटिलो प्रक्रिया र सामान्य कैफियत देखिए चिया नै नष्ट गरिदिने डरले व्यापारीहरू पछि हटेका हुन्। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार पहाडी भेगका उद्योग आजैबाट बन्द भएका छन् भने झापा सहित तराईका सीटीसी चिया उद्योगहरू आगामी असार ४ गतेदेखि बन्द हुनेछन्।
निकासी रोकिँदा भारत पुगेको २ लाख किलो चिया गोदाममै थन्किएको छ भने उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया कुहिने जोखिम बढेको छ। वार्षिक रूपमा इलाममा ६५ लाख किलो र झापामा २ करोड किलो चिया उत्पादन हुने गरेकोमा ९० प्रतिशत बजार भारत नै हो। यस संकटले पहाडका ५६ र तराईका ३० चिया उद्योग प्रभावित भएका छन्, जसका कारण हजारौँ दैनिक ज्यालादारी मजदुर र हरियो पत्ती उत्पादन गर्ने किसान प्रत्यक्ष मारमा परेका छन्। यति ठूलो वित्तीय संकट आइपर्दा पनि सरकारले ठोस कूटनीतिक पहल नगरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्।