काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा सरकारले कुल बजेटको झन्डै ६० प्रतिशत खर्च गरेको छ। तर पुँजीगत अर्थात् विकास खर्च भने अझै २८ प्रतिशत पनि पुग्न सकेको छैन।
महालेखा नियन्त्रक कार्यालयको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार सरकारले कुल रु. १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये रु. ११ खर्ब ७३ अर्ब ५२ करोड खर्च गरेको छ। यो कुल वार्षिक बजेटको ५९.७५ प्रतिशत हो।
तथ्यांकअनुसार चालु खर्च ६८.९८ प्रतिशत पुगेको छ भने पुँजीगत खर्च २७.९१ प्रतिशतमा सीमित छ। यस्तै वित्तीय व्यवस्था शीर्षकअन्तर्गतको खर्च ६५.३० प्रतिशत पुगेको छ।
राजस्वतर्फ सरकारले रु. १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म रु. ९ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख संकलन गरेको छ। यो वार्षिक लक्ष्यको ६६.७९ प्रतिशत हो।
सरकारको कुल प्राप्ति भने लक्ष्यको ६६ प्रतिशत पुगेको छ। रु. १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख कुल प्राप्ति लक्ष्य रहेकोमा हालसम्म रु. १० खर्ब १२ अर्ब ५ करोड २४ लाख प्राप्त भएको छ।
यस्तै वैदेशिक अनुदान प्राप्ति लक्ष्यको ३३.२८ प्रतिशतमा सीमित छ। रु. ५३ अर्ब ४४ करोड ६९ लाख अनुदान प्राप्त गर्ने लक्ष्य रहेकोमा हालसम्म रु. १७ अर्ब ७८ करोड ७६ लाख प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ।
कुल खर्च ६० प्रतिशत नजिक पुग्दा पनि विकास खर्च कमजोर रहनुले सरकारी आयोजना कार्यान्वयन, पूर्वाधार निर्माण र आर्थिक गतिविधिमा दबाब कायमै रहेको संकेत गर्छ।