काठमाडौँ, २७ वैशाखः संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
राजदूतावास परिसरमा आयोजित सो कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता रहेको थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो ।
उहाँले कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियम, वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराउनुभयो । साथै, राहदानी, इमिरेट्स आइडी, श्रमिकको परिचयपत्रलगायत व्यक्तिगत कागजात सुरक्षित राख्न र साइबर अपराध तथा आर्थिक ठगीबाट जोगिन सचेत रहन आग्रह गरियो ।
कार्यक्रममा विदेशमा हुने खोजतलास, उद्धार, व्यवस्थापन, क्षतिपूर्ति तथा श्रमिक सहायतासम्बन्धी निवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा सञ्चालित अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने जानकारी दिइएको थियो । राजदूतावासका तृतीय सचिव विमलेशकुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी जानकारी गराउनुभयो ।