सागर केसी
दोलखाः नेपाल चीन सिमाना ङ्याङलुङमा जनप्रतिनिधि र प्रशासकहरुको संयुक्त टोलीले संयुक्त निरीक्षण गरेको छ । प्रतिनिधि सभाका सांसद जगदीश खरेल र स्मृति सेञ्चुरी नेतृत्वमा पुगेको टोली नेपाल–चीन ६० र ६१ नं. पिलरसम्म पुगेर फर्केको हो ।
विगू गाउँपालिका वडा नं. १ हुरहुरेबाट तामाकोसीमा बेलिब्रिज बनेसँगै जुम खोलामा गाडीमा गाडी पुगेपछि सिमाना पुग्न पनि सहज भएको छ । जुम खोलामा गाडी पुगेसँगै चिनीया सिमानासम्म सडक जोड्न जलविद्युत आयोजनाहरु सरकारको सारथी बनेका छन् ।

सिमाना पुगेर सांसद खरेलले तातोपानीभन्दा पुरानो तिब्बतसँगको व्यापारिक नाका सञ्चालनका लागि स्थलगत अध्ययन गर्न आएको बताए । ‘चिनसँगको मुख्य व्यापारिक नाका अहिले तातोपानी र रसुवागढी हो’ उनले भने ‘ति दुवै नाका हरेक वर्ष बाढी र पहिरोको चपेटामा परेर बन्द हुँदै खुल्दै आएका छन्, त्यसको विकल्पमा तेस्रो नाका काठमाडौंको सबैभन्दा नजिकको लामाबगर नै हो ।’
फेरि वर्षात् लाग्न लाग्दा रसुवागढी र तातोपानीको सडक जीर्ण छ । तेस्रो विकल्पको नाका सञ्चालन गर्न सकिने नसकिने र थप पूर्वाधार निर्माणका लागि सरकारलाई सुझाव दिन पनि आफू सहित जिल्लाको सुरक्षा निकायहरु सहित सिमानामा आएको उनले बताए । स्थलगत रुपमा भ्रमणपछि काठमाडौं फर्केर भौतिक पूर्वाधार मन्त्रालय, अर्थमन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई आवश्यक पहलका लागि सुझाव दिने बताए ।
लामाबगरबाट ९ किलोलिमिटरमा सिमाना पुगिन्छ । त्यसमध्ये थप ५ सय मिटर मात्रै सडक ट्रयाक जोड्न बाँकी छ । लामाबगरबाट नादिङसम्म ४ वर्षमा कठिन भीर छिचोल्दै ११ सय मिटर सुरुङ सहित सडक निर्माण गरेको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाले निर्माण गरेको सडक र पुल चिन जोड्ने नाकाको सारथी बनेको छ ।
चिनीया पक्षले पनि नेपालतिरबाट सडक कहिले जोडिन्छ भन्ने चासो राख्दै आएको गाउँपालिका अध्यक्ष सञ्जिव ओलीले जानकारी दिए । चिनीया पक्षले टिङग्री जिल्लाको राङ्ििसया नाका खुल्ला गरेर आफ्ना भन्सार सहितका पूर्वाधार तयार गरिसकेको छ । नेपालतिर भने यस्ता संरचना तयार नहुँदा दुवै नाकाबाट व्यापार आदनप्रदान हुन सकेको छैन । तातोपानी नाका खुल्नु अघि यही लामाबगर नाकाबाट काठमाडौंसँगको व्यापार हुने गरेको थियो ।
गत वर्ष असार २४ मा चिनीया क्षेत्रबाट ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढीको मितेरी पुल सहित सडक, भन्सार, प्रहरी चौकी, जलविद्युत आयोजना लगायतका ठूलो क्षति भयो । मर्मत गरेर रसुवागढी सञ्चालनमा आउन ६ महिना बढी लाग्यो । अघिल्लो वर्ष पनि चिनीया क्षेत्रको पहिरोले लामो समय रसुवागढी बन्द भएको थियो । तातोपानीमा पनि बाढी पहिरोले सडकमा हरेक वर्ष क्षति हुँदै आएको छ ।
राजधानी काठमाडौंको नजिकको तेस्रो विकल्पको रुपमा लामाबगरलाई प्रयोगमा ल्याउन सरकारको ध्यानाकार्षण गराउने सांसद जगदीश खरेलले बताए । ‘हामीले हरेक चुनावमा लामाबगर नाका चुनावी नारा नै बनायौं, अहिले चिनीया पक्षले नाका पनि खुल्ला गरेको छ’ उनले भने ‘अब पूर्वाधार विकास गरेर चीनसँग कुटनैतिक पहल गरेर व्यापारिक रुपमा र पर्यटक भित्र्याउन पहल गर्नुपर्छ ।’
विगू गाउँपालिका वडा नं. १ को ङयाङलुङ र लप्चीबाट चिनसँग २ वटा नाका छन् । लप्ची स्थानीयहरु तिब्बतको स्थानीय बजारमा आवतजावत गर्ने नाका हो भने ङयाङलुङ २०२२ सालमा तातोपानी खुल्नु अघि काठमाडौं र तिब्बतको परम्परागत नाका हो । चिनीया पक्षले नेपालसँगको १४ वटा नाका खोल्दा दुई वर्ष अघि ङयाङलुङबाट रोङसिया खुल्ला गरेको छ । रोङसिया सिमानाबाट केही माथि पर्छ ।
लामाबगर नाकाका लागि पूर्वाधार यस्तो छ
लामाबगर–रोङसिया नाका खोल्न नेपालतिर काठमाडौंदेखि लामाबगरसम्म २ सय किलोमिटरमा १४ वर्षदेखि नियमित रुपमा ठूला गाडी चल्दै आएको छ । सिंगटीसम्म कालोपत्रे भइसकेको छ भने सडक विभागले सिंगटीदेखि छ्योतछ्योसम्म थप १६ किलोमिटर कालोपत्रे गर्ने गरी २ वटा ठेक्का लगाएकोमा एउटा प्याकेजमा काम सुरु गरिसकेको छ भने अर्को काम सुरु हुने चरण्मा पुगेको छ । छ्यातछ्योतदेखि लामाबगरसम्मको थप १२ किलोमिटर कालोपत्रेका लागि सडक विभागले ७६ करोड स्रोत जुटाएर बहुवर्षिय ठेक्का लगाउने तयारी गरिरहेको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
लामाबगरदेखि चिनीया सिमाना नजिक ९ किलोमिटर सडकको ट्याक खुलिसकेकोले स्तरोन्नती गर्न सकिने उनले बताए । सडकको ट्याक खुलिसकेकाले अब डिभिजन सडकले सडक स्तरोन्नती गर्न माथिल्ला निकायमा बजेट माग गरिने उनले बताए ।

यो सडक चीन, नेपाल र भारतको पनि सबैभन्दा छोटो सडक मार्ग हो । भारतीय सिमाना महोत्तरीको भित्तामोडबाट २४५ किलोमिटरमा चिनीया सिमाना पुगिन्छ ।
चिनीया भूगोलमा टिङ्ग्री काउटी सहरदेखि रोङ्सियासम्म ९० किलोमिटर ठूलो सडक छ । रोङिसयादेखि नेपालको सिमानासम्म २० किलोमिटर पक्कि सडक छ भने सिमा नजिकसम्म ट्रयाक खोलेर ढलान समेत गरे पनि पहिरो गएकाले मर्मत हुन बाँकी छ । चिनीया पक्षले रोङ्सियामा व्यापारका लागि भन्सार लगायतका संरचना तयार गरेको छ । अध्यक्ष ओलीले रोङिसयाबाट ९० किमीमा चिनको प्रमुख व्यापारीक सहर जोड्ने सबैभन्दा लामो जी १८ राजमार्गमा जोडिने भएकाले पनि यो नाका महत्वपूर्ण हुने बताए ।
लामाबगरमा अध्यागमण कार्यालय राखेर भिसा दर्ता गर्न मिल्ने व्यवस्था गरेर पूर्वाधार तयार गरेमा तिब्बत भ्रमण आउने वार्षिक २० करोड चिनीयाहरु पर्यटकहरु मध्ये केही नेपाल भ्रमण गराउन सकिने चिनीया मामिलाका जानकार तथा व्यवसायी सोभित उप्रेतीले बताए ।
‘तिब्बतमा धेरै मान्छे छैनन्, तिब्बतीयनहरु भ्रमणमा आएर फाइदा छैन’ उनले भने ‘धेरै जनसंख्या भएको चिनबाट तिब्बत भ्रमणमा वार्षिक २० करोड चिनीया आउँछन् उनीहरुलाई लक्षित गरी काम गर्न सके लामाबगर नाकाबाट चिनीयाँ पर्यटक भित्र्याउन सकिन्छ ।’ व्यापारिक रुपमा चिनीयाँहरुले केरुङलाई लक्षित गरेर पूर्वाधार तयार गरेकाले लामाबगरमा पूर्वाधार समेत नहुँदा महङ्गो पर्ने उनले बताए ।
जिल्ला समन्व समिति दोलखाका प्रमुख बर्जुराम घतानीले लामाबगरमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी बलको सिमा सुरक्षा बल, नेपाल प्रहरीको सिमा चौकी, सिमा प्रशासन र भन्सार कार्यालय भएकाले यसको थप पूर्वाधार स्तरोन्नती गर्नु पर्ने बताए । नाका सञ्चालनका लागि थप पूर्वाधार मात्रै सञ्चालन गरे पुग्छ । नेपाल तर्फको सडक मार्ग पनि तातोपानी र रसुवागढीकोभन्दा सुरक्षित मानिन्छ । अघिल्लो वर्ष रसुवा र तातोपानी नाका बन्द हुँदा व्यवसायीले ५ किलोमिटर टाढाको कोरला नाका घुमाएर सामान ल्याउनु परेको थियो ।
तस्बिरः नेपाल तर्फको निर्माणाधिन सडक र नेपाल चीन सिमानामा चिनीया पक्षले निर्माण गरेको झोलुङ्गे पुल