पात्रो

रेडियो

समाचार खोजी

खान्डुको दरवार फेला परेको दावी

नवराज शिवाकोटी ४ वैशाख २०८३, शुक्रवार

दोलखाः कालिञ्चोक गाउँपालिका वडा नम्बर नौ को आँगे डाँडामा खान्डु राजाको दरवार फेला परेको दावी गरिएको छ । सो डाँडामा स्थानीयहरुको पहलमा स्थानियहरुद्वारा नै उत्खनन् गरिँदा दरवारको भग्नावशेष भनेर अनुमान गर्न सकिने भवनको जग तथा गारो भेटिएपछि स्थानीयहरुद्वारा सो दावी गरिएको हो । 


खान्डु कुनै समयमा प्रख्यात थामी राजा रहेको दोखला जिल्ला उद्गम स्थल रहेको थामी समूदायको विश्वास छ । आफ्नो समूदायको परापुर्व कालका पूर्वज खान्डु राजाको दरवार आँगेमा थियो भन्ने आफूले पनि आफ्ना बाबु बाजेबाट सुनेको कालिञ्चोक गाउँपालिका वडा नम्बर नौ का ८५ वर्षिय थामी अगुवा गोपीलाल थामीले बताउनु भयो । बाबु बाजेबाट सुनेको कुरा अहिले दरवारको भग्नावशेष भेटिँदा त्यो कुरा सत्य रहेछ भन्ने कुरा आफूलाई विश्वास भएको उहाँले बताउनु भयो । 


सदरमुृकाम चरिकोट बाट चरिकोट– सिंगटी सडक हुँदै करिब १६ किलोमिटर सवारी साधनबाट यात्रा गरेपछि कालिञ्चोक गाउँपालिका वडा नम्बर नौ को सानो बजार कटुवा चौर पुगिन्छ । त्यहाँ बाट पैदल करिब १ किलोमिटर गोरेटो बाटो हिँडेपछि आँगे डाँडा पुगिन्छ । जहाँ अहिले स्थानीयले नै खान्डु दरवारको भग्ना वशेषको उत्खनन् गरिरहेका छन् ।
दोलखाका आदिवासी थामी जातिको पहिचान तथा कला संस्कृति संरक्षणकालागि एउटा भवन आवश्यक छ भन्ने लागेपछि पहिले अन्यत्रै भवन बनाउने विचार गरिएको मा पछि पुर्खाको दरवार रहेको भनिएको ठाउँमा नै भवन बनाउन उपयुक्त होला भन्ने आफूहरुलाई लागेको थामी संस्कृति उत्थान समाजका अध्यक्ष हिरालाल थामीले बताउनु भयो । निजी स्वामीत्वमा रहेको सो जग्गा वडाका वासिन्दा थामी समूदायले नै चन्दा संकलन गरी खरिद गरेको उहाँको भनाई रहेको छ । 


जग्गा खरिद पछि सो जग्गामा  बारबन्देज र संरक्षणको लागि बागमती प्रदेश सरकारबाट आर्थिक सहयोग भएपछि संरक्षण  गर्ने क्रममा पहिले भवनको गाह्रो जस्तो देखिने ढिस्कोको वरिपरी खन्दा घरको  गारो  जस्तो खियो । जतन साथ खन्दै जाँदा विशाल भवनको जग भेटिएको अध्यक्ष थामीले बताउनु भयो । 
करिब ५४ फिट लम्बाई तथा ५४ फिट नै चौडाई रहेको भवनको आधार सहितको करिब ६ फिट अग्लो पर्खाल उत्खनन्‌का क्रममा देखिएको छ । नौ वटा कोठाहरु अहिले सम्ममा प्रश्ट देखिएका छन् । भवनको पश्चिम तर्फ करिब १८ फिट चौडाई तथा ५४ फिट नै लम्बाई रहेको अर्को भवनको जग समेत भेटिएको छ । मुख्य भवन भित्रको भागमा रहेको माटो तथा ढुङ्गा पन्छाउने काम बाँकी छ । सो  भागको उत्खनन् पछि करिब १६ कोठाको भवन हुन सक्ने उत्खनन् मा संलग्न स्थानीयहरुको अनुमान रहेको छ । 


सामान्य हिसावले हेर्दा उत्खनन् गरिएका भित्ताहरुमा कोइला समेत भेटिएकोले आगलागीमापरि भवन ध्वस्त भएको वा भूकम्पले भत्किएको हुन सक्ने थामी अगुवा गोपीलाल थामीको अनुमान छ । कतिपय ठाउँका गारोहरुमा झ्याल रहेको अनुमान गर्न सकिने आधार छन् । लामो कालखण्ड भएकोले तथा पहाडमा बलिया काठ नपाइने हुनाले भवनमा प्रयोग गरिएका काठहरु सडेको हुन सक्ने अनुमान गर्न सकिन्छ । 
यो उत्खनन् बैज्ञानिक अथवा दक्ष पुरात्त्व विदहरुले गरेको त हैन तर स्थानीयहरुले आफ्नै सिपले सके सम्म जतनले उत्खनन् गरिरहेका छन् । सामान्य हिसावले भवनको भग्नावशेष हेर्दा हेर्दा कुनै ब्यक्तिको मात्र घर त्यो छाँटको हुने सम्भावना देखिदैन जस्ले दरवार नै हो भन्नेतर्फ संकेत गर्दछ । थामी जातिमा चलेको खान्डु राजाको मिथक यथार्थ रहेको अनुमान सो भवनको भग्नावशेष हेर्ने जो कोहीले पनि  गर्न सक्ने स्थानीयहरुको भनाई रहेको छ । 
स्थानीय मिथक अनुसार को हुन खान्डु ?
स्थानीयमा चलेको मिथक अनुसार खान्डु कुनै ऐतिहासिक समयका दोलखा राज्यका कुनै मन्दिरका शक्तिशाली पुजारी थिए । दोलखाको उत्तर तर्फका बस्तिहरुमा रहेका वासिन्दालाई कर लगाउने सन्दर्भमा ठाउँ अनुसार कर निर्धारण गर्न राजाले आफ्ना विश्वास पात्र खान्डुलाई पठाएको किँबदन्ती थामी समूदायमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर नौ का स्थानीय वासिन्दा बुद्धिमान थामीले बताउनु भयो । 
दोलखाको उत्तर तर्फका बस्तीहरुमा कर निर्धारण गर्दै जाने क्रममा विगुको रुकुमा कुनै तपश्वि महिला जो पुरुषको अनुहार नहेरी पतश्या गरिरहेकी थिइन उनीसँग खान्डुको विवाह भएको मिथक स्थानीय समूदायमा चलि आएको छ । विवाह पछि दोलखा फर्किएका खान्डु विवाह पछि पुजारी बन्न नसक्ने तत्कालिन मान्यताका कारण आँगेमा दरवार बनाई बसेको जनश्रुती छ । उनी राजा हुन वा हैनन् एकिन गर्ने ऐतिहासिक प्रमाण हाल सम्म नपाइएतापनि उनी राजा नभएपनि दोलखा भन्दा उत्तरतर्फको कर असुल गर्न लगाइएका दोलखाका राजाका विश्वास प्राप्त भारद्वार अथबा राजा उपाधि पाएका भारद्वार भने हुन सक्ने अनुमान गर्न सकिन्छ । कतिपय स्थानीयको भनाईमा भने उनी दोलखाको उत्तरी क्षेत्रका राजानै थिए ।


सामान्य मानिसले पुरानो समयमा यति विशाल भवन निजी प्रयोजनकालागि बनाउन सक्दैनथे भन्ने अनुमान भवनको संरचना हेर्दा नैं गर्न सकिन्छ । विश्वका ठूला प्राचिन सभ्यताहरु यसैगरी फेला परेको सन्दर्भमा विज्ञ पुरात्व विदबाट सो स्थानको बैज्ञानिक उत्खनन् हुन आवश्यक रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर नौ का स्थानीय नारायण रेग्मी बताउनु हुन्छ। पुरातात्विक खोजमा अहिले नयाँ नयाँ प्रविधिको विकास भएको छ । जगमा प्रयोग गरिएका ढुङ्गा, उत्खनन्‌का क्रममा भेटिएका माटोको गाग्रोका टुक्रा, गारोमा भेटिएको अँगार आदीको कार्बन डेटीङ गरी भवन कति समय पुरानो हो पत्ता लागाउन सकिन्छ । राज्यले नै आधिकारीक रुपमा खान्डु दरवारको उत्खनन् तथा संरक्षणको ब्यवस्था मिलाई पुर्खाको धरोहरको संरक्षण गर्ने जिम्मा आफूहरुलाई दिए उपयुुक्तहुने स्थानीय थामी अगुवाहरुको भनाइ रहेको छ । ऐतिहासिक तथ्यका आधारमा खान्डुको जीवनीबारेमा  पनि गहन अध्ययन गर्न आवश्यक रहेको उनीहरुको भनाई  छ ।

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

नवराज शिवाकोटी

उहाँले साझा अर्थको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ।