पात्रो

रेडियो

समाचार खोजी

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

साझा अर्थ संवाददाता ३० चैत २०८२, सोमवार

गण्डकी, ३० चैत : कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो ।

‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको इन्जिनियर गौतमले बताउनुभयो । “छ सय मिटर जति सडकखण्डमा जग्गाको विवादले केही समय निर्माण रोकिएको थियो, अहिले जग्गाको विवाद मिलिसकेको छ, अब निर्माणले थप गति लिनेछ”, उहाँले भन्नुभयो ।

यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार कामलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो । रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने उहाँको भनाइ छ । 

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माणको काम भइरहेको महानगरले जनाएको छ । सडकमा तीनवटा पुल पनि बन्नेछन् । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।  चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास छ । 

तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने जनाइएको छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य छिट्टै सक्नुपर्ने स्थानीयवासीको माग छ । 

49 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ