पात्रो

रेडियो

समाचार खोजी

पाकिस्तानमा आज अमेरिका र इरानबीच युद्धविराम बैठक

साझा अर्थ संवाददाता २८ चैत २०८२, शनिवार

इस्लामाबाद: पाकिस्तानमा आज अमेरिका र इरानबीच युद्धविरामलाई अघि बढाउँदै शान्ति वार्तामा ऐतिहासिक बैठक हुँदै छ। इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगिसकेको छ र केही समयमै अमेरिकी प्रतिनिधिमण्डल पनि आइपुग्ने छ। यद्यपि इरानले वार्ता सुरु गर्नुअघि लेबनानमा युद्धविरामको सर्त राखेको थियो तर हाल त्यो विवाद एकातिर राखिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले टिभीमा दिएको भाषणमा भने, अमेरिका र इरान दुवै देशका नेताहरू शनिबार वार्ताका लागि इस्लामाबादमा उपस्थित रहनेछन्। उनले यसलाई शान्तिको दिशामा अगाडि बढ्ने अत्यन्तै महत्त्वपूर्ण अवसर बताए।

इरानी टोलीको नेतृत्व संसदको अध्यक्ष बाकेर गालिबफ र विदेशमन्त्री अब्बास अरागचीले गरिरहेका छन् र यो प्रतिनिधिमण्डल इस्लामाबाद पुगिसकेको छ। इरानी प्रतिनिधिमण्डलको स्वागत उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डार, राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिक, पाकिस्तानका फिल्ड मार्शल असीम मुनीर र गृहमन्त्री मोहसिन नकवीले गरेका छन् भने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले गरिरहेका छन्।  जानौं यस शान्ति वार्तामा कुन देशबाट को को सहभागी हुँदैछन्।

अमेरिकाको प्रतिनिधिमण्डलमा को को:

  • जेडी भ्यान्स: अमेरिकाका हालका उपराष्ट्रपति हुन् र यस वार्तामा अमेरिकी टोलीको नेतृत्व गरिरहेका छन्। उनी पूर्व मरीन हुन् र विदेश नीतिमा सैन्य हस्तक्षेपको सट्टा कूटनीतिलाई प्राथमिकता दिनेका रूपमा चिनिन्छन्। उनले युद्धविराममा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

  • स्टिभ विटकफ: राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत हुन्। उनी एक अनुभवी मध्यस्थको भूमिकामा छन् र जटिल सम्झौताहरू सुल्झाउन निपुण मानिन्छन्।

  • जेरेड कुशनर: राष्ट्रपति ट्रम्पका ज्वाइँ हुन्। उनी औपचारिक रूपमा सरकारमा नभए पनि मध्यपूर्वका नेताहरूसँगको व्यक्तिगत सम्बन्धका कारण यस वार्तामा सहभागी गराइएका छन्।

  • ब्र्याड कुपर (एडमिरल): अमेरिकी सेन्ट्रल कमान्डका कमान्डरको रूपमा सैन्य रणनीतिका प्रमुख विज्ञ हुन्।

इरानको प्रतिनिधिमण्डलमा को को:

  • मोहम्मद बाघर गालिबफ: इरानी संसद (मजलिस) का अध्यक्ष हुन्। उनी इरानका सबैभन्दा शक्तिशाली नेतामध्ये एक हुन् र कट्टरपन्थी तथा व्यावहारिक गुटबीचको पुल मानिन्छन्।

  • सैय्यद अब्बास अरागची: इरानका विदेशमन्त्री हुन्। उनी एक दक्ष कूटनीतिज्ञ हुन् र २०१५ को आणविक सम्झौताको वार्तामा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

  • माजिद तख्त रवांची: इरानका उपविदेशमन्त्री हुन्। उनी संयुक्त राष्ट्रमा इरानका स्थायी प्रतिनिधि भइसकेका छन्।

  • मोहम्मद बाकिर जोलगद्र: इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन्, जो इरानको सुरक्षा नीति निर्धारण गर्ने सबैभन्दा ठूलो निकाय हो।

पाकिस्तानको तर्फबाट को को:

  • शहबाज शरीफ: पाकिस्तानका प्रधानमन्त्री हुन्। उनको प्रशासन यसलाई आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानको छवि सुधार्ने ठूलो कूटनीतिक अवसरको रूपमा हेरिरहेको छ।

  • असीम मुनीर: पाकिस्तानका सेना प्रमुख हुन् र हाल पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छन्।

  • इशाक डार: पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री हुन्। उनी नवाज शरीफ परिवारका अत्यन्त निकट र विश्वासपात्र मानिन्छन्।

  • मोहम्मद असीम मलिक: पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्, र हालै आईएसआईका महानिर्देशकको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

 

                                                                साभारः नवभारत टाइम्स 

45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु