दोलखा, चैत्र २६ : जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर एक स्थित पानिघाट-देउराली सडको स्तरोन्नतिको कार्य भइरहेको छ । संघिय शहरी तथा भवन निर्माण आयोजना मार्फत सो सडकको स्तरोन्नतिको कार्य भइरहेको हो ।
पानीघाट– देउराली सडक अन्तर्गत वडा कार्यालय देखि क्षमावती माध्यमिक विद्यालय सम्मको खण्डको सडक स्तरोन्नतिको कार्य भइरहेको संघिय शहरी तथा भवन निर्माण आयोजना रामेछापका प्राविधिक छत्र जिरेलले जानकारी दिनुभयो ।
सडक स्तरोन्नतिकालागि माघ २२ गते असार १५ गते काम सक्ने गरी १ करोड ९२ लाख ९१ हजार चारसय चौतिस रुपैयामा (भ्याट र पिएस सहित) मा निर्माण ब्यवसायी सँग निर्माण सम्झौता गरिएको उहाँको भनाई रहेको छ । ठेक्का सम्झौता अनुसार निर्माण ब्यावसायीले कटिङ, फिलिङ, वाल, मेस्नरी ड्रेन, कंकृट लगायतका काम गर्नुपर्ने छ ।
सम्झौता अनुसार ड्रेन चारसय मिटर तथा चारसय सत्ताईस मिटर सडक ढलान हुने छ । हाल सडकमा कटिङ, फिलिङ तथा पर्खाल लगाउने काम भइरहेको छ । मौसम खराब नभएमा तथा गिटी बालुवाको सहज आपूर्ति हुने अवस्था रहेमा सम्झौता अवधि भित्रै काम सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको निर्माण कम्पनी, रोनिशा–कृसाल कामबेशी जेभीका प्रतिनिधि चन्द्र बुढाथोकीले जानकारी दिनुभयो । हाल सम्म सो कामको भौतिक प्रगति करिब २० प्रतिशत पुगेको संघिय शहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ ।
पानिघाट– देउराली सडक भीमेश्वर नगरपालिकाको चक्रपथ अन्तर्गतको सडक समेत हो । देउराली बाट पानी घाटतर्फ पनि भीमेश्वर नगरपालिका मार्फत सडक ढलानको ठेक्का लागी सकेको छ । यो सडक सम्पन्न भएपछि पानिघाटबाट सवारी साधनहरु सिधै मकैबारी पुग्न सक्ने भएकोले काठमाडौं जाने दुरी समेत छोटीने छ । पानिघाट देखि देउराली सम्मको सडक ९ किलोमिटर लामो रहेको छ । देउराली बाट मकैबारी तथा चरिकोट सम्मको सडक भने पक्की बनिसकेको छ । यस्तै पानीघाटबाट वडा नम्बर एक वडा कार्यालय सम्म पनि अघिल्लो आर्थिक वर्षमा ढलान गर्ने कार्य भइसकेको छ ।