पात्रो

रेडियो

समाचार खोजी

आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिम

साझा अर्थ संवाददाता २६ चैत २०८२, बिहिवार

  काठमाडौँ, २६ चैतः राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।    
    
 आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।    
    
 राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।    
    
 उहाँका अनुसार आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहमा आवश्यक पत्राचार गरिसकिएको छ । तालिम कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ र तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारीअनुसार खटिने छन् ।    
    
 प्रवक्ता लामिछानेले भन्नुभयो, “बिहीबारदेखि देशभरका ८४ कार्यालयबाट पाँचदिने तालिम सुरु हुनेछ र तालिम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू देशभर आर्थिक गणनाको काममा खटिनेछन् ।”    
    
 यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ (वैशाख–जेठ) मा सञ्चालन भएको थियो ।     

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्