काठमाडौं : निर्वाचन आयोगले चैतको पहिलो साताभित्र प्रतिनिधि सभा निर्वाचन तर्फका सबै काम सकाउने बताएको छ । आयोगले सोमबार सो जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिनुभयो । मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको उहाँको भनाई रहेको छ । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिनुभयो । त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको छ ।