पात्रो

रेडियो

समाचार खोजी

हरित हाइड्रोजन र इथानोल मिश्रणमा प्रवेश गर्दै नेपाल आयल निगम

साझा अर्थ संवाददाता २७ पुष २०८२, आइतवार

काठमाडौँ । पेट्रोलियम पदार्थमा निर्भर नेपालको ऊर्जा प्रणालीलाई क्रमशः हरित ऊर्जातर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल आयल निगमलाई हाइड्रोजन, इथानोल मिश्रण र पूर्वाधार विस्तारमा केन्द्रित गरिने भएको छ ।

इन्धन कारोबारमा लामो समयदेखि एकाधिकार हैसियतमा रहेको नेपाल आयल निगमलाई अब संरचनात्मक सुधार र ऊर्जा रूपान्तरणतर्फ लैजाने संकेत सरकारले दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निगमको ५६औँ वार्षिकोत्सवमा निजी क्षेत्रलाई प्रतिस्पर्धामा ल्याउँदै निगमलाई हरित ऊर्जा केन्द्रित बहु–व्यवसायिक संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने स्पष्ट सन्देश दिनुभयो ।

गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेपछि निगम आर्थिक रूपमा सबल बन्दै गए पनि परम्परागत पेट्रोलियममा मात्र निर्भर रहनु दीर्घकालीन जोखिम भएको सरकारको ठहर छ । त्यसैका आधारमा हरित हाइड्रोजन उत्पादन, पेट्रोलमा इथानोल मिश्रण र ऊर्जा विविधीकरणका लागि नीतिगत तयारी अगाडि बढाइएको मन्त्री सिन्हाले जानकारी दिनुभयो ।

सरकारले इन्धन आपूर्तिमा निजी क्षेत्रलाई प्रतिस्पर्धामा ल्याउने संकेत गरेसँगै निगमको भूमिका अब मूल्य नियन्त्रणकर्ता मात्र नभई रणनीतिक ऊर्जा व्यवस्थापकका रूपमा पुनःपरिभाषित हुने देखिएको छ । स्वचालित मूल्य प्रणाली, डिजिटल अर्डर–भुक्तानी र पाइप लाइन विस्तारलाई ऊर्जा आपूर्ति सुधारका मुख्य आधारका रूपमा लिइएको छ ।

मोतीहारी–अमलेखगन्ज पाइप लाइन सञ्चालनपछि ढुवानी लागत घट्दै उपभोक्ता मूल्य सस्तो हुनु, तथा झापा–सिलिगुडी र अमलेखगन्ज–लोथर परियोजनाबाट आपूर्ति सुरक्षा बढ्ने अपेक्षा गरिएको छ । यसले परम्परागत ट्याङ्कर–आधारित ढुवानी प्रणालीलाई क्रमशः प्रतिस्थापन गर्दै पूर्वाधार–केन्द्रित आपूर्ति मोडेलतर्फ निगमलाई डोर्‍याउने संकेत गरेको छ ।

जलवायु परिवर्तनको चुनौती र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्यसँग निगमको रणनीति जोडिन थालेको छ । काठमाडौँ विश्वविद्यालयसँग सहकार्यमा हरित हाइड्रोजनको व्यवसायीकरण र इथानोल मिश्रणको सम्भाव्यता अध्ययन त्यसकै उदाहरण हो ।

यद्यपि पाइप लाइन विस्तारले ढुवानी व्यवसायी र ग्यास उद्योगमा पर्ने असर, भुक्तानी प्रणाली तथा नियामकीय अस्पष्टता समाधान गर्नुपर्ने चुनौती पनि उत्तिकै रहेको सरोकारवालाहरूको भनाइ छ । सरकारको पछिल्लो सन्देशले नेपाल आयल निगमलाई इन्धन आपूर्तिकर्ताबाट ऊर्जा रूपान्तरणको प्रमुख कडीका रूपमा रूपान्तरित गर्ने दिशामा नीति मोडिएको संकेत गरेको छ ।

१३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा

निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले निगमले गत आर्थिक वर्षमा इन्धन कारोबारबाट १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिनुभयो । तीन खर्ब ६६ अर्ब रुपैयाँको कारोबारबाट एक खर्ब २४ अर्ब रुपैयाँ राजस्व सरकारलाई बुझाइएको उहाँले बताउनुभयो । विसं २०७१ देखि लागू गरिएको स्वचालित मूल्य प्रणाली नै निगमको आर्थिक सुधारको मुख्य आधार बनेको उहाँको भनाइ छ ।

मोतीहारी–अमलेखगन्ज पाइप लाइन सञ्चालनमा आएपछि आपूर्ति सहज हुनुका साथै उपभोक्तालाई प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य सस्तो परेको जानकारी पनि उहाँले दिनुभयो ।

आपूर्ति प्रणालीलाई पारदर्शी बनाउन अमलेखगन्ज, भैरहवा र थानकोटमा फ्लो मिटर जडान गरिएको र इआरपी प्रणालीमार्फत डिजिटल अर्डर तथा भुक्तानी व्यवस्था सुरु गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी जलवायु परिवर्तनको चुनौतीलाई ध्यानमा राख्दै निगमले हरित ऊर्जातर्फ रूपान्तरणको योजना अघि सारेको छ । नेपाल सरकारको सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्यलाई सहयोग पुर्‍याउन काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी हरित हाइड्रोजनको व्यवसायीकरण गर्ने तयारी भइरहेको डा. भट्टले जानकारी दिनुभयो । पेट्रोलमा इथानोल मिश्रणलाई पनि प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

कार्यक्रममा पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी र एलपी ग्यास उद्योगका प्रतिनिधिहरूले व्यवसायिक विविधीकरण, पाइप लाइन विस्तारका प्रभाव तथा ढुवानी व्यवस्थासम्बन्धी चुनौतीबारे धारणा राखेका थिए । सो अवसरमा निगमको बबरमहलस्थित नयाँ कर्पोरेट भवनको उद्घाटन गर्नुका साथै उत्कृष्ट कर्मचारी तथा व्यवसायीलाई सम्मान गरिएको थियो ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ