पात्रो

रेडियो

समाचार खोजी

अनलाइन सहभागिता सुनिश्चित गर्दै एनआरएनएको १२औँ महाधिवेशन गर्न सुझाव

साझा अर्थ संवाददाता २६ पुष २०८२, शनिवार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशन संघको विधानअनुसार सञ्चालन गर्न परराष्ट्रमन्त्री बालानन्द शर्माले सुझाव दिनुभएको छ।

गत २०२५ नोभेम्बर ३० मा सम्पन्न बृहत् एकताको सहमतिअनुसार २०२६ फेब्रुअरी २३–२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका विषयमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले उक्त धारणा राख्नुभएको हो।

“नेपालमा भौतिक रूपमा महाधिवेशन गर्दा धेरै सकारात्मक पक्ष छन्, त्यसैले नेपालमै गर्नुहोस् भन्ने मेरो चाहना हो,” मन्त्री शर्माले भन्नुभयो, “तर संघको विधान र प्रचलित नियम–कानुनअनुसार नै प्रक्रिया अगाडि बढाउनुपर्छ। नेपाल आउन नसक्ने सदस्यहरूलाई मतदानबाट वञ्चित गर्न मिल्दैन।”

संघको २००३ (संशोधित २०२२) को विधानको धारा १४ अनुसार महाधिवेशन तथा साधारण सभा अनलाइन वा भौतिक रूपमा गर्न सकिने र भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूलाई अनलाइनमार्फत सहभागिता तथा मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख छ।

भेटका क्रममा एनआरएनएका प्रतिनिधिमण्डलले १२औँ महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्न पनि अनुरोध गरेका छन्। विधानअनुसार परराष्ट्रमन्त्रीको अध्यक्षतामा नेपाल सरकारको उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ।

अध्यक्ष महेश श्रेष्ठले बृहत् एकतापछि पहिलो पटक महाधिवेशन हुन लागेको उल्लेख गर्दै संघभित्रको एकता सुदृढ बनाउन निरन्तर पहल भइरहेको जानकारी दिनुभयो। साथै, परराष्ट्र मन्त्रालयले तयार गरिरहेको एनआरएन ऐनको मस्यौदा मा थप परिमार्जन आवश्यक रहेको धारणा राख्नुभयो।

अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गर्नुभयो। नागरिकता जारी भइसके पनि कानुनी अस्पष्टताका कारण संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्न कठिनाइ भइरहेको उहाँको भनाइ थियो।

यस अवसरमा पूर्व अध्यक्ष विनोद कुँवरले नागरिकताको कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराउनुभयो भने पूर्व अध्यक्ष आर. के. शर्माले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्याबारे उल्लेख गर्दै दूतावासहरूमा कानुन विज्ञको व्यवस्था गर्न माग गर्नुभयो। महिला उपाध्यक्ष रोजिना प्रधान राईले विदेशमा रहेका महिलाहरूका समस्या समाधानका लागि विशेष सरकारी नीति आवश्यक रहेको बताउनुभयो।

फरक प्रसङ्गमा नेपाल एनआरएन डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सहजीकरण गर्न पनि अनुरोध गरिएको थियो।

भेटमा कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, महिला संयोजक रश्मि थापा तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ