काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका ग्राहक विवरण क्यूआर कोडमार्फत अनलाइनमै अद्यावधिक गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ ।
टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण क्यूआर कोडमार्फत प्राप्त गरी अनलाइनमै अद्यावधिक गर्न सकिने सेवाको परीक्षण शुभारम्भ गरेको हो । हाल उक्त सेवाको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको छ ।
क्यूआर कोड आधारित अनलाइन केवाइसी अपडेट सेवाको परीक्षण शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गर्नुभएको हो ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले नयाँ प्रणालीले नेपाल टेलिकमको सेवालाई थप ग्राहकमैत्री, सरल र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा ग्राहकको समय र श्रम दुवै बचत हुनेछ ।
प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक यादवले थोरै समयमा धेरै काम सम्पन्न गर्न सकिने भएकाले यस सेवाले कम्पनीको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, दूरसञ्चार कार्यालय सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले क्यूआर कोडमार्फत केवाइसी अपडेट गर्ने प्रणालीले डिजिटल रूपान्तरण, पेपरलेस कार्य प्रणाली र डाटा अद्यावधिक प्रक्रियालाई थप सहज बनाउने अपेक्षा व्यक्त गर्नुभयो ।
यस प्रणालीअन्तरगत हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । भरेको विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्ने टेलिकमले जनाएको छ ।
पहिलो चरणको परीक्षण अवधिमा क्यूआर कोडमार्फत विवरण भर्न सकिने व्यवस्था गरिएको छ भने आगामी दिनमा नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल एपमार्फत पनि अनलाइन केवाइसी अपडेट गर्न सकिने व्यवस्था गर्ने योजना रहेको छ ।
हाल सुन्धाराबाट परीक्षण सुरु गरिएको यो सेवा परीक्षण सफल भएपश्चात क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालयहरू तथा उपत्यका बाहिरका कार्यालयहरूमा समेत विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ ।