काठमाडौँ । बैङ्किङ प्रणालीमा थुप्रिएको तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले २५ अर्ब रुपियाँ बराबरको नयाँ ऋणपत्र निष्काशन गरेको छ ।
पछिल्लो समय बैङ्किङ प्रणालीमा कर्जा प्रवाह सुस्त हँदा निक्षेपको चाप बढ्दै गएको अवस्थामा मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैङ्कले २५ अर्ब रुपियाँ बराबरको एक वर्षे ऋणपत्र निष्कासन गरेको हो ।
राष्ट्र बैङ्कले “नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८३ ‘ग’” नाम दिइएको उक्त ऋणपत्र बोलकबोलमार्फत जारी गरेको हो ।
राष्ट्र बैङ्कले बुधबार बैङ्क तथा वित्तीय संस्थालाई अनलाइन प्रणालीमार्फत अपराह्न २ बजेसम्म बोलपत्र पेस गर्न आह्वान गरेको छ । ब्याजदर बोलकबोल प्रक्रियाबाट तय हुने ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २० गते गरिने राष्ट्र बैङ्कले जनाएको छ । लगानीकर्तालाई ब्याज भने अर्धवार्षिक रूपमा उपलब्ध गराइने बताइएको छ ।
ऋणपत्रमा वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले सहभागिता जनाउन सक्ने भएका छन् । बोलकबोल प्रक्रियामा एकल तथा बहु ब्याजदर दुबै माध्यम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैङ्कका अनुसार प्राप्त प्रस्तावहरू न्यूनतम ब्याजदरदेखि उच्च ब्याजदरको क्रम अनुसार क्रमबद्ध गरी आह्वान गरिएको रकम वा तोकिएको सीमासम्म स्वीकार गरिनेछ । त्यसपछि कायम हुने ब्याजदरलाई एकल ब्याजदर मान्दै सो दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव गर्ने संस्थालाई ऋणपत्र बाँडफाँड गरिनेछ ।
राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न दीर्घकालीन मौद्रिक उपकरणको रूपमा यस्ता ऋणपत्र प्रयोग गर्दै आएको छ । यसअघि पनि राष्ट्र बैङ्कले पुस १६ गते एक वर्षे अवधिका लागि २५ अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘क’ र ‘ख’ निष्कासन गरेको थियो ।