पात्रो

रेडियो

समाचार खोजी

जेन्जी आन्दोलन : मानव अधिकारको परिवेश विषयक संवाद कार्यक्रम सम्पन्न

साझा अर्थ संवाददाता २८ मंसिर २०८२, आइतवार

काठमाडौँ । नेपालमा जेन्जी आन्दोलनले स्वतन्त्र अभिव्यक्ति, मानव अधिकार र न्याय सुनिश्चित गर्ने आवश्यकतालाई उजागर गरेको भन्दै सरोकारवालाहरुले आन्दोलनका क्रममा देखिएका घटनाले राज्यको जिम्मेवारी र नागरिकको अधिकारबीचको सन्तुलन आवश्यक रहेको देखाएको बताएका छन् ।
७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७औं मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा साउथ एसिया पाटनरसीप (साप) नेपालले राजधानीमा आयोजना गरेको जेनजी आन्दोलन ः मानव अधिकारको परिवेश विषयक संवाद कार्यक्रम कार्यक्रममा बोल्ने वक्ताहरुले भविष्यमा नीति सुधार र कानूनी संरचना बलियो बनाउन यसबाट शिक्षण लिने अवसर प्रदान गरेको बताए ।
प्रत्येक नागरिकले समाजको विकास र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुपर्ने सन्देश सो आन्दोलनले दिएको भन्दै उनीहरुले राज्यको जिम्मेवारी र नागरिकको अधिकारबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाएको बताए ।
मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले जेन्जी आन्दोलन केबल घटनाक्रमको परिणाम नभई, यसले सबैका लागि महत्वपूर्ण सन्देश दिएको बताउनुभयो ।
सबैभन्दा पहिले, यसले नागरिक अधिकार र स्वतन्त्र अभिव्यक्तिको महत्व उजागर गरेको भन्दै उहाँले प्रत्येक व्यक्तिले आफ्नो विचार व्यक्त गर्ने अधिकार पाउनु आवश्यक छ र राज्यले त्यसको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
समाजको विकास र लोकतान्त्रिक प्रक्रियामा नागरिकको सहभागिता अपरिहार्य भएको भन्दै उहाँले जेन्जी आन्दोलनले युवाहरूमा सचेतना र सामाजिक जिम्मेवारीको भावना जगाएको बताउनुभयो ।
आन्दोलनले राज्य र नागरिकबीच सन्तुलन कायम गर्ने चुनौती पनि देखाएको हुँदा नीति, कानुन र सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता उहाँले औंल्याउनुभयो ।
जेन्जी आन्दोलन हाम्रो लागि शिक्षण अनुभव र प्रेरणाको स्रोत भएकाले यसलाई समाज सुधार, नीति निर्माण र मानव अधिकारको संरक्षणमा प्रयोग गर्नु हाम्रो साझा जिम्मेवारी भएको आयोगका सदस्य दुवाडीले बताउनुभयो ।
साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र जोशीले आन्दोलनले केबल विरोध मात्र नभई समाजलाई सकारात्मक सन्देश र भविष्यका लागि शिक्षण अनुभव दिएको बताउनुभयो । युवाहरूमा लोकतान्त्रिक चेतना, सामाजिक जिम्मेवारी र नागरिकको महत्व बढाउने अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।
साप नेपालले स्थापनाकालदेखि नै मानव अधिकारको सवालमा आवाज उठाउँदै आएको भन्दै कार्यकारी निर्देशक जोशीले अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको सम्वद्र्धनको लागि यस्तो संवाद कार्यक्रम निरन्तर आयोजना गर्न आवश्यक रहेको बताउनुभयो । यसले समाजमा सचेतना बढाउने मात्र होइन, भविष्यका आन्दोलनमा सकारात्मक मार्गदर्शन पनि गर्ने उहाँको भनाई थियो ।

कार्यक्रमको मुख्य उद्देश्य जेन्जी आन्दोलनका क्रममा देखिएका मानव अधिकारसम्बन्धी चुनौतीहरू, समाजमा उत्पन्न प्रतिक्रिया र भविष्यका कदमबारे खुला संवाद गर्नु रहेको कार्यकारी निर्देशक जोशीले बताउनुभयो ।
जेन–जी आन्दोलनले नेपालको लोकतान्त्रिक परिवेशमा स्वतन्त्र अभिव्यक्ति, जनचेतना र सामाजिक जिम्मेवारीको महत्व उजागर गरेको भन्दै आन्दोलनका क्रममा नागरिक अधिकार उल्लंघन र सुरक्षासम्बन्धी चुनौतीहरू पनि देखिएको बताउनुभयो । जसलाई नीति निर्माण र कानूनी संरचनामा सुधारको आवश्यकता उहाँले औंल्याउनुभयो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राजनीतिक दलहरुले जनतालाई दास बनाउने कारखाना खोलेर नेताको भक्ति गाउने प्रथा निर्माण गरेको भन्दै त्यसलाई जेन्जी आन्दोलनले खोलिदिएको बताउनुभयो ।
पूर्व मन्त्री गणेश शाहले गाई तेरो दुध मेरो भनेर जनतालाई पछि लगाएर हिँड्ने जनामा सकिएको भन्दै जेन्जी पुस्तासँग डिजीटल पावर रहेको बताउनुभयो ।
मानवअधिकारको कुरा गर्दै दैनिक जीवनयापनदेखि शुद्ध पिउने पानीदेखि जलवायु परिवर्तनसम्म हेनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जेन–जी आन्दोलनले नेपालको लोकतान्त्रिक परिवेशमा नागरिक अधिकार र स्वतन्त्र अभिव्यक्तिलाई नयाँ आयाम दिएको भन्दै यसले समाजमा चेतना र जिम्मेवारीको महत्व बुझाएको बताउनुभयो ।
कार्यक्रममा उठेका सुझावहरू संकलन गरी सम्बन्धित निकायमा पेश गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
साप नेपालकी अध्यक्ष गीता भट्टराईले अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको संवद्र्धनका लागि यस्तो संवाद कार्यक्रम निरन्तर आवश्यक रहेको भन्दै यसले समाजमा सचेतना बढाउने मात्र होइन, भविष्यका आन्दोलनलाई मार्गदर्शन पनि गर्ने बताउनुभयो ।
कार्यक्रममा जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, मानव अधिकार र नागरिक सहभागिताको व्यापक विश्लेषण गरिएको थियो । कार्यक्रममा जेनजी अभियान्ता, कानुनविद्, मानव अधिकारकर्मी, विद्यार्थी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

602 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ