काठमाडौं । राष्ट्रिय भौगोलिक पहिचानलाई अझ स्पष्ट बनाउँदै नेपाल राष्ट्र बैङ्कले लिपुलेक–लिम्पियाधुरा समेटिएको नक्सा सहितको नयाँ सय रुपियाँ नोट बजारमा ल्याएको छ ।
आधुनिक सुरक्षा विशेषताले भरिएको यो नोट पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहित बिहीबारदेखि चलनचल्तीमा आएको हो ।
नयाँ नोट संकेत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
‘‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा राष्ट्र बैङ्कबाट रुपियाँ १०० रुपियाँ एक सय तुरुन्त पाइने छ,’’ भन्ने लेखिएको छ ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ । नोट २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रिय बैङ्कले जनाएको छ ।
नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ । यसअघि राष्ट्र बैङ्कले २०७६ साल असोज ७ गतेदेखि रुपियाँ १०० दरको बैङकनोट संकेत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैङ्कले जनाएको छ ।