काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा १३० खर्ब ७५ अर्ब ९५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत सात खर्ब १४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२३ खर्ब ६१ अर्ब ३० करोड रुपियाँ गरी कुल १३० खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर एक अर्ब ८६ करोड खुद खरिद गरी दुई खर्ब ६२ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ४७ करोड खुद खरिद गरी एक खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब १२ करोड बिक्री गरी एक खर्ब ५८ अर्ब सात करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८६ करोड बिक्री गरी एक खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा वाणिज्य बैङ्कहरूको दुई ४२ अर्ब ७९ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ५२ अर्ब ६४ करोड गरी कुल दुई खर्ब ९५ अर्ब ४३ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको तीन खर्ब ७१ अर्ब २५ करोड र अन्य वित्तीय संस्थाहरूको ३१ अर्ब २० करोड गरी कुल चार खर्ब दुई अर्ब ४५ करोडको अन्तर बैंक कारोबार भएको थियो ।