काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय गिरावट आएको छ । नेपाल राष्ट्र बैंकमा पेस गरिएका अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरूले असोज मसान्तसम्म जम्मा १३ अर्ब १४ करोड रुपियाँ खुद नाफा कमाएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिमा भएको १६ अर्ब १८ करोड रुपियाँ नाफाको तुलनामा करिब १८.७ प्रतिशतले घटेको हो । यस अवधिमा १५ वाणिज्य बैंकको नाफा घटेको छ भने एक बैंक घाटामा पुगेको छ । केबल पाँच बैंकले मात्र नाफा बृद्धि गर्न सफल भएका छन् ।
समीक्षा अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ । सो बैंकले असोज मसान्तसम्ममा एक अर्ब ८५ करोड ८६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बृद्धि भएको हो । गत वर्ष पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक यसपटक दोस्रो स्थानमा झरेको छ, जसले एक अर्ब ७५ करोड रुपियाँ नाफा कमाएको छ ।
यसपटक अर्ब क्लबमा पाँच बैंक मात्रै टिक्न सफल भएका छन् — ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी बैंक । गत वर्ष यसै अवधिसम्ममा आठ बैंक अर्ब क्लबमा थिए । प्रभु बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक यसपटक अर्ब क्लबबाट बाहिरिएका छन् ।
यस अवधिमा सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड चार लाख रुपियाँ घाटामा पुगेको छ, जबकि गत वर्ष यसै अवधिमा सो बैंकले १९ करोड ८२ लाख रुपियाँ नाफा कमाएको थियो ।
नाफा बृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) सबैभन्दा अगाडि रहेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा १५ करोड १३ लाख रुपियाँ नाफाबाट बढाएर यस वर्ष ५९ करोड ८७ लाख रुपियाँ नाफा कमाउन सफल भएको छ, जसको बृद्धिदर २९५.७२ प्रतिशत रहेको छ ।
त्यसैबीच, कृषि विकास बैंकको नाफा सर्वाधिक ९७ प्रतिशतले घटेर १९ करोड नौ लाख रुपियाँबाट घट्दै ५७ लाख रुपियाँमा सीमित भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशतले र प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घटेको छ ।
बैंकहरूको नाफा घट्नुको प्रमुख कारण ऋण असुलीमा देखिएको अवरोध, कर्जाको कम माग, थुप्रिएको निक्षेपको उच्च ब्याज लागत र आर्थिक मन्दी रहेको बैंकरहरु बताउँछन् ।
वित्तीय विश्लेषकहरूका अनुसार आर्थिक मन्दी र व्यवसायिक गतिविधिमा देखिएको सुस्तीका कारण लगानी प्रवाह घटेको छ । जेनजी आन्दोलनपछि निजी क्षेत्रको ऋण भुक्तानी क्षमतामा पनि गिरावट आएको छ, जसले बैंकहरूको नाफा थप संकुचित बनाएको हो । राष्ट्र बैंकले असल वर्गमा रहेका ऋणको नोक्सानी छुट दर एक प्रतिशतमा घटाएर केही राहत दिएको भए पनि यसले पर्याप्त प्रभाव पार्न सकेको छैन । नाफा घट्दा बैंकहरूको पुँजीकोषमा दबाब बढ्दै गएको र लगानी क्षमतामा समेत असर परेको देखिन्छ ।
समग्रमा हेर्दा, बैंकिङ क्षेत्र अहिले दुईवटा चुनौतीबीच संघर्षरत छ — एकातिर ऋण असुलीको समस्या र अर्कातिर थुप्रिएको निक्षेपको ब्याज लागत। यद्यपि राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकजस्ता केही बैंकहरूले आन्तरिक दक्षता र ब्याज व्यवस्थापन सुधारमार्फत नाफा वृद्धि गर्न सफल भएका छन् । तर ऋण असुली सुधार र कर्जा माग पुनः सक्रिय नभएसम्म वाणिज्य बैंकहरूको नाफा निकट त्रैमाससम्म पनि दबाबमै रहने देखिन्छ ।