दिनभर २३८ कम्पनीका १७,५२,७८१ कित्ता सेयर कारोबार भए । कुल कारोबार रकम ७२.८७ करोड रुपियाँमा सीमित रह्यो । बजार पूँजीकरणबाट करिब २.६८ खर्ब रुपियाँ बराबरको सम्पत्ति एकै दिनमा मेटियो ।
काठमाडौं — एक साता लामो जेन्जी आन्दोलनपछि खुलेको सेयर बजार भारी अंकले घटेको छ । भदौ २४ देखि चलेको विरोध प्रदर्शन र त्यसपछिका घटनाले सेयर बजारमा १६० अंकले गिरावट आएको छ ।
जेन्जीेको विरोध प्रदर्शनले मुलुकभर फैलिएको हिंसा, आगजनी र तोडफोडले नेपालका उद्योग–व्यवसाय मात्र होइन, पूँजीबजारलाई नराम्रोसँग हल्लाइदिएको छ । राजनीतिक अनिश्चितता र आर्थिक त्रासबीच बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला वर्षकै सबैभन्दा ठूलो अस्थिरता देखियो ।
बिहीबार सेयर बजारमापक नेप्सेमा परिसूचक १६०.३३ अंकको गिरावट आउँदा परिसूचक २५११.९१ मा झरेको छ ।
तीन पटक सर्किट ब्रेकर
बिहीबार कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले घट्दा पहिलो चरणको सर्किट ब्रेकर सक्रिय भयो र बजार २० मिनेटका लागि रोकियो ।
११ः२३ बजे कारोबार पुनः सुरु भए पनि लगानीकर्ताको त्रास अझ गहिरिँदै गयो । एक मिनेटमै पाँच प्रतिशत गिरावट आउँदा दोस्रो चरण सक्रिय भयो र बजार ४० मिनेटका लागि रोकियो ।
अन्ततः १२ः०४ बजे खुलेको बजार दुई मिनेटमै छ प्रतिशतले झर्दा दिनभरकै लागि कारोबार बन्द गर्नुप¥यो ।
यसरी दिनभर तीनपटक सर्किट ब्रेकर लाग्नु नेपालको पूँजीबजार इतिहासकै दुर्लभ घटना मानिएको छ ।
बजार तथ्याङ्क
नेप्से २,५११.९१ अंकमा झरेको छ, जुन १६०.३३ अंकको (छ प्रतिशत) गिरावट हो ।
दिनभर २३८ कम्पनीका १७,५२,७८१ कित्ता सेयर कारोबार भए । कुल कारोबार रकम ७२.८७ करोड रुपियाँमा सीमित रह्यो ।
बजार पूँजीकरणबाट करिब २.६८ खर्ब रुपियाँ बराबरको सम्पत्ति एकै दिनमा मेटियो ।
उद्योग–व्यवसायमा असर
भदौ २४ को घटनाले धेरै उद्योगमा प्रत्यक्ष नकारात्मक असर पु-यायो ।
होटल र पर्यटन क्षेत्रमा बुकिङ रद्द हुने क्रम बढेको छ । बीमा क्षेत्रमा करिब ३० अर्ब रुपियाँ बराबरको दाबी दर्ता भइसकेको छ, जसले निर्जीवन बीमा कम्पनीलाई ठूलो दबाबमा पारेको छ ।
टेलिकम सेवामा तोडफोड र चोरीका कारण अवरोध आएको छ । तर, संरचना ध्वंसपछि पुनर्निर्माणको माग बढ्ने भएकाले सिमेन्ट कम्पनीहरूले अल्पकालीन लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
लगानीकर्ताको विश्वासमा चोट
राजनीतिक अस्थिरता र सामाजिक असन्तोषको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको यस घटनाले लगानीकर्ताको विश्वासमा ठूलो चोट पु-याएको छ । तीनपटक सर्किट ब्रेकर लागेर बजार बन्द हुनुले बजार प्रणालीमै विश्वास घट्ने खतरा बढाएको छ ।
के गर्न सकिन्छ ?
नियामक निकायको सक्रियता : नेपाल धितोपत्र बोर्ड र नेप्सेले लगानीकर्ताको हित सुरक्षित गर्न तत्काल कदम चाल्नुपर्छ ।
बीमा दाबी छिटो टुङ्ग्याउने : दाबी निपटानमा ढिलाइ भए बजारमा अझै नकारात्मक असर पर्न सक्छ ।
सूचीबद्ध कम्पनीहरूको पारदर्शिता : घटनाबाट भएको क्षति र वित्तीय प्रभावबारे छिटो जानकारी दिनुपर्ने आवश्यकता छ ।
लगानी प्रोत्साहन : पुनर्निर्माणसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउन सरकारी सहयोग र प्रोत्साहन जरुरी छ ।