सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
क्यापिटलको राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले सामान्य प्रस्ताव अन्तरगत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपियाँभन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो ।
त्यसैगरी व्यवसाय तर्फ असार मसान्त, २०८२ सम्म आठ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तरगत चार वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म पाँच वटा योजना मार्फत पाँच अर्ब ४५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको क्यापीटलले जनाएको छ ।
लगानी व्यवस्थापन सेवा अन्तरगत ७२० जना ग्राहकहरुबाट दुई अर्ब ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको सो अवसरमा बताइएको छ । सेयर रजिष्ट्रार सेवा अन्तरगत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आइडिया टु आइपीओ सेवा अन्तरगत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभामा जानकारी गराइएको छ । साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्ना सेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको पनि जनाएको छ ।