बजारलाई आधुनिक र विश्वसनीय बनाउन गरिनुपर्ने सुधारका कार्यहरूमा ढिलाइ गर्न नहुने
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारलाई देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल सेयर बजार लगानीकर्ता संघको टोलीसँग मन्त्रालयमा भएको छलफलमा उहाँले सेयर बजारको विकास र विस्तारका लागि सरकार साँच्चिकै काम गर्न इच्छुक रहेको बताउनुभयो ।
मन्त्री पौडेलले संघद्वारा प्रस्तुत गरिएका बृहत धारणा र कार्ययोजनाबारे थप छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । निकट भविष्यमा कुन–कुन पक्षमा कस्तो सुधार आवश्यक छ, त्यसको ठोस पहिचान गरी कार्यान्वयनमा विशेष जोड दिइने आश्वासन दिंदै उहाँले आम लगानीकर्तालाई विश्वस्त हुन आग्रह गर्नुभयो ।
संघका उपाध्यक्ष इन्जिनियर भगवान बहादुर राउतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारको दिगो विकास र विस्तारका लागि लगानीकर्तामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो । छलफलका क्रममा संघका महासचिव रविन कँडेलले लगानीकर्ताको हित संरक्षणका लागि बलियो पूर्वाधारको सुदृढीकरण, बजारको विकासका लागि गतिशील एवं सकारात्मक निर्णयहरूको कार्यान्वयन तथा नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभयो । उहाँले बजारलाई आधुनिक र विश्वसनीय बनाउन गरिनुपर्ने सुधारका कार्यहरूमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
संघले छुट्टाछुट्टै आइजीन नम्बरको कार्यान्वयनः सीडीएससीद्वारा जारी गरिएको निर्देशिकाअनुसार प्रोमोटर र साधारण सेयरका लागि छुट्टाछुट्टै आइजीन नम्बर अविलम्ब लागू गरी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने माग राखेको छ ।
यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीगत तथा प्राविधिक सुधारका कामहरू तत्काल सुरु गरी लगानीकर्ताले भोग्नुपरेका समस्याहरूको अन्त्य गर्न संघले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।
नेपाल धितोपत्र बोर्डलगायत पूँजी बजारसँग सम्बन्धित सबै नियामक निकायहरूलाई एउटै छातामुनि ल्याई एकीकृत रूपमा संरचनात्मक सुधारको प्रक्रिया अगाडि बढाउनुपर्ने, जसले नीतिगत समन्वय र प्रभावकारी नियमन सुनिश्चित गर्ने संघले सुझाव दिएको छ ।