दोलखाः भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्षमा ३ करोड ३० लाख भन्दा बढी खुद राजश्व संकलन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नगर सो राजश्व संकलन गर्न सफल भएको हो।
भीमेश्वर नगरपालिकाका राजश्व शाखा प्रमुख विक्रम कार्कीका अनुसार भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्षमा ३ करोड ३० लाख ६६ हजार ५४६ रुपैयाँ राजश्व संकलन गरेको छ। सो भन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ मा कुल ३ करोड ४ लाख ८१ हजार एक सय एक रुपैयाँ राजश्व संकलन भएको भीमेश्वर नगरपालिका राजश्व शाखाको तथ्याङ्क छ।
गत दुई वर्षको राजश्व संकलनको तथ्याङ्कले भीमेश्वर नगरपालिकामा आव २०८१/८२ मा करिब २६ लाख अर्थात २५ लाख ८४ हजार छ सय पैतालिस रुपैयाँ खुद राजश्व संकलन बढेको राजश्व शाखा प्रमुख कार्कीको भनाई रहेको छ । जसमध्ये नगर कार्यपालिका कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब २३ लाख राजश्व संकलनमा बृद्धी भएको शाखाको तथ्याङ्कले देखाउँछ ।
संकलिन राजश्व मध्ये विभिन्न शीर्षक अन्तर्गत भीमेश्वर नगर कार्यपालिकाको कार्यालय अन्तर्गत गत आवमा २ करोड ७६ लाख राजश्व संकलन भएको थियो । यस भन्दा अघिको आर्थिक वर्ष २०८०/८१ मा नगर कार्यपालिकाको कार्यालय मार्फत २ करोड ३ लाख ८६ हजार सातसय एकसट्ठी रुपैयाँ राजश्व संकलन भएको थियो । गत आब २०८०/८१ को तुलनामा आव २०८१/८२ मा २३ लाख ३१ हजार दुईसय अठतिस रुपैयाँ बढी राजश्व संकलन भएको राजश्व शाखाको तथ्याङ्कले देखाउँछ ।
वडागत हिसावले हेर्दा भीमेश्वर नगरपालिकाका नौ वटा वडा मध्ये गत आवको तुलनामा वडा नम्बर एक, दुई, छ , आठ र नौ गरी पाँचवटा वडा ले अघिल्लो वर्षको तुलनामा राजश्व संकलन मा प्रगति गरेका छन् भने बाँकी वडाहरु ऋणात्मक रहेका राजश्व शाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
रकमका हिसावले सबै भन्दा बढी राजश्व संकलन वडा नम्बर तीन बाट भएको छ । गत आबमा वडा नम्बर तीनले २७ लाख ३१ हजार ३८ रुपैयाँ राजश्व संकलन गरेका छ । अन्य वडाका तुलनामा रकमका हिवासले बढी राजश्व संकलन गरेता पनि आर्थिक वर्ष २०८०÷८१ को तुलनामा ४ लाख ४२ हजार एकसय १२ रुपैयाँ कम हो । यस्तै राजश्व संकलन का हिसावले दोस्रो स्थानमा रहेको वडा नम्बर ६ ले गत आवमा १६ लाख ५६ हजार एकसय तीन रुपैयाँ राजश्व संकलन गरेको छ तर आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो वडाको राजश्व संकलनमा पनि ३ लाख ८४ हजार सात सय एघार रुपैयाँले कमी आएको छ । सदरमुकाम चरिकोट वडा नम्बर ३ र ६ मा नै पर्दछ । यस्तै वडा नम्बर दुईले भने रावश्व संकलन मा आव २०८०/८१ को तुलनामा बृद्धी गरेको छ । आब २०८०/८१ मा १० लाख ७२ हजार राजश्व संकलन गरेको वडा नम्बर दुइले आब २०८१/८२ मा १० लाख ९७ हजार सतसट्ठी रुपैयाँ राजश्व संकलन गरेको छ । जुन अघिल्लो आबको तुलनामा २४ हजार आठसय पैसट्ठी बढी हो ।
भीमेश्वरका तीनवटा वडाहरु वडा नम्बर तीन , छ तथा दुई बाहेक अन्य वडाहरु नगरपालिकानै भएतापनि ग्रामिण क्षेत्रमा रहेका छन् प्रतिशतका हिसावले केही बढी अथवा कम राजश्व संकलन गरेतापनि खासै ठूलो परिमाणमा राजश्व नउठ्ने भीमेश्वर नगरपालिकाको तथ्याङ्क छ ।
नगर कार्यपालिका तथा राजश्व शाखाको निरन्तर प्रयास स्वरुप राजश्वमा बृद्धि गर्न राजश्व शाखा केही दहसम्म सफल भएको भीमेश्वर नगरपालिकाका राजश्व शाखा प्रमुख विक्रम कार्कीको दावी रहेको छ ।