दोलखाः सदरमुकाम चरिकोटमा बसपार्कको निर्माण सुरु भएको छ। स्थान अभावका कारण लामो समय देखि बसपार्क विहिन रहेको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाले बस पार्कको निर्माण सुरु गरेको हो ।
चालु आर्थिक वर्षबाट शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा भीमेश्वर नगरपालिका वडा नम्बर तीन को लामाचौरमा बसपार्क निर्माणको काम सुरु भएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । निर्माणाधिन बसपार्कमा यो आर्थिक वर्षमा करिब ५० सवारी साधन अट्न सक्ने ठाउँ ढलान भएकोे छ ।
आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले स्मार्ट बत्ती, खानेपानी तथा शौचालयको जस्ता न्यूनतम पूर्वाधारको ब्यवस्थागरी आँशिक रुपमा निर्माण भएको बसपार्कबाटै सवारी साधन सञ्चालन गर्ने ब्यवस्था मिलाउने नगरप्रमुख मानन्धरको भनाई रहेको छ।
चालु आर्थिक वर्षमा बसपार्कको आंशिक काम गर्नकालागि श्री माता मनकामना विल्डर्स, चरिकोट सँग नगरपालिकाले १ करोड ६ लाख ३६ हजार छ सय दश रुपैयाँ(भ्याट सहित) मा निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले ढलान, ग्याविङवाल, कटिङ, फिलिङ, मेस्नरी वाल लगाएतका काम गर्नु पर्ने थियो । कम्पनीले निर्धारित समयावधि भित्रै काम सम्पन्न गरिसकेको भीमेश्वर नगरपालिकाका ईञ्जिनीयर दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
बसपार्कको अभावमा चरिकोट बजारमा जताततै सवारी साधन पार्किङ गर्नाले ट्राफिक ब्यावस्थापन टाउको दुःखाईको विषय बनेको थियो । साथै बजार फोहोर हुने समस्या पनि थियो । आँशिकरुपमा भएपनि बसपार्कको काम सम्पन्न भएकोले एप्रोच रोडको ब्यवस्था गरी अत्यावश्यक पूर्वाधार निर्माण पछि निर्माणाधिन बसपार्कबाटै यातायात सञ्चालन गर्ने भीमेश्वर नगरपालिकाको योजना रहेको छ ।
साझा अर्थ संवाददाता