असार १६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) को सेयर मूल्य समायोजन गरेको छ। कम्पनीले आफ्नो वार्षिक साधारण सभा तथा लाभांश वितरणको लागि बुक क्लोज गरेपछि, नेप्सेले बोनस सेयर समायोजनसहित नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै, नेप्सेले बोनसको समायोजन गरी कम्पनीको सेयर मूल्य रु. ८२५.७८ निर्धारण गरेको हो। अघिल्लो कारोबार दिन (आइतबार) इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य रु. ९०८.३६ रहेको थियो।
सोमबारदेखि दोस्रो बजारमा समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबार सुरु हुनेछ।
यसैबीच, इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते, ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २३औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभामा बोनस सेयर (१०%) र त्यससँग सम्बन्धित कर तिर्नका लागि ०.५२६३% नगद लाभांश वितरण प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारणतर्फबाट एकजना सञ्चालकको निर्वाचन गर्ने, संस्थापक समूहबाट प्रस्तावित सञ्चालकहरूको अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभाले पारित गर्नेछ।
साझा अर्थ संवाददाता