नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृति १५ असार २०८२ मा प्रदान गरिएको हो।
स्वीकृत प्रस्तावअनुसार कम्पनीले आमनागरिकका लागि जम्मा २९,०५,००० कित्ता सेयर निष्कासन गर्नेछ, जुन कम्पनीको कुल जारी पूँजीको ३५ प्रतिशत हो। सेयरहरू प्रतिकित्ता रू. १०० को दरमा निष्कासन गरिनेछ।
यस सार्वजनिक निष्कासनको लागि हिमालयन क्यापिटल लिमिटेडलाई इस्यु तथा विक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ।
आइसीआरए नेपालले बुङ्गल हाइड्रो लिमिटेड (BHL) लाई दीर्घकालीन ऋणका लागि आइसीआरए एनपी एलबी माइनसर अल्पकालीन ऋणका लागि आइसीआरए एनपी ए फोर को क्रेडिट रेटिङ प्रदान गरेको छ।
बुङ्गल हाइड्रो लिमिटेडको स्थापना २०१६ जुन १३ मा भएको थियो। कम्पनीले बझाङ, नेपालमा १०.७ मेगावाट क्षमताको अपर सानिगाड जलविद्युत् आयोजना निर्माण गर्दै आएको हो। रन-अफ-द-रिभर प्रविधिमा आधारित यो आयोजनाको अनुमानित लागत रू. २ अर्ब ८६ करोड ७० लाख रहेको छ, जसमा ७५:२५ को ऋण-पूँजी अनुपातमा लगानी गरिएको छ।
२०२२ को मध्य अक्टोबरसम्ममा कम्पनीको चुक्ता पूँजी रू. ५०.६ करोड रहेको थियो। प्रमुख सेयरधनीहरूमा जलाञ्जली इन्भेष्टमेन्ट प्रा.लि. (२८%), बरुण इन्भेष्टमेन्ट प्रा.लि. (१४%), जय गणेश इन्भेष्टमेन्ट प्रा.लि. (१३%), शिवशंकर इन्भेष्टमेन्ट प्रा.लि. (१२%) र बुङ्गल हाइड्रो इन्भेष्टमेन्ट लि. (१२%) रहेका छन्। बाँकी २१ प्रतिशत सेयर अन्य लगानीकर्ताहरूले होल्ड गरेका छन्।
साझा अर्थ संवाददाता