पात्रो

रेडियो

समाचार खोजी

भिसा पाइसकेपछि पनि भाषा परीक्षा? प्रशिक्षार्थी युवामाथि ‘सिन्डिकेट’को लुट, कांग्रेस नेता शिवाकोटीले मागे कारबाही

साझा अर्थ संवाददाता १३ असार २०८२, शुक्रवार

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी कामदारहरूमाथि भइरहेको शोषणलाई ‘गम्भीर सिन्डिकेट’को परिणाम भन्दै तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

शुक्रवार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै उनले भिसा आइसकेपछि पुनः भाषा परीक्षा लिने प्रक्रिया गैरकानुनी र अमानवीय भएको भन्दै आपत्ति जनाए। शिवाकोटीका अनुसार यस खालको प्रक्रिया प्रशिक्षार्थीहरूको सपना र श्रममाथि खेलवाड गर्ने प्रयास हो।

"जब जापानी पक्षले युवालाई स्वीकार गरिसकेको छ र भिसा नै आइसकेको छ, त्यसपछि फेरि भाषा परीक्षा लिने नाममा रोक्नु, अलमल्याउनु र आर्थिक रूपमा शोषण गर्नु अमानवीय हो," नेता शिवाकोटीले लेखेका छन्।

उनले विगत १५ वर्षदेखि निरन्तर चल्दै आएको यस्तो कार्यप्रणालीलाई संगठित सिन्डिकेटको रुपमा चित्रण गर्दै यसले प्रशिक्षार्थी युवाको श्रम बेचेर मुनाफामुखी धन्दा सञ्चालन गरिरहेको आरोप लगाए।

विशेषतः जाइका एल्मुना एसोसिएसन नेपाल जान सँग वैदेशिक रोजगार विभागको सहकार्यलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले यस्तो गठजोड तत्काल अन्त्य गर्नुपर्ने बताए।

"केही सीमित व्यक्ति र संस्थाले सरकारी संयन्त्रको नाम लिई निर्दोष युवाको भविष्य र परिवारको लगानीमा खेलवाड गरिरहेका छन्," उनले भने।

भिजिट भिसाको नाममा विगतमा देखिएको समस्या झल्काउने गरी अहिलेको अवस्था भयावह बन्दै गएको उल्लेख गर्दै शिवाकोटीले वैदेशिक रोजगार विभागलाई सुशासन र पारदर्शिता व्यवहारमा उतार्न आग्रह गरे।

उनले अनधिकृत संस्था तथा एजेन्सीहरूलाई श्रम प्रक्रियाबाट तत्काल हटाई छानबिन र कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।

"हामीले आफ्ना युवाको श्रमको सम्मान गर्न नसक्ने हो भने देशभित्रको बेरोजगारीको समाधान खोज्ने नैतिक आधार पनि गुम्छ," नेता शिवाकोटीले भनेका छन्।

404 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता