काठमाडौं – एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको नसों गाउँपालिकास्थित चिनो खोलामा निर्माण हुन लागेको ७.८३ मेगावाटको जलविद्युत् आयोजनाका लागि रु १ अर्ब ३६ करोडको वित्तीय सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। यो आयोजना बुटवल पावर कम्पनीको प्रवर्द्धनमा निर्माण हुने भएको हो। आयोजना निर्माण कार्य ईपीसी (इञ्जिनियरिङ, खरीद तथा निर्माण) मोडलमा चिनियाँ ठेकेदारमार्फत आगामी २ वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत् मनाङस्थित धारापानी सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। नेपाल विद्युत् प्राधिकरण (NEA) र चिनो हाइड्रोपावरबीचको विद्युत् खरिद सम्झौता (PPA) गत वैशाख २०८२ मै सम्पन्न भइसकेको छ। आयोजनाबाट वार्षिक ४४.४६३ गिगावाट–आवर (GWh) विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
एभरेष्ट बैंक लिमिटेड भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा स्थापना भएको हो। बैंकले देशभर १३२ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ क्षेत्रीय कार्यालय र १६७ एटीएममार्फत सेवा दिइरहेको छ। हाल बैंकसँग १४ लाखभन्दा बढी ग्राहक रहेको छ। यसका साथै, बैंकले मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ, साथै नेपाल सरकारका लागि ३२ वटा राजस्व सङ्कलन केन्द्रहरू समेत सञ्चालन गरिरहेको छ। बैंकको नयाँ दिल्ली लगायत अन्य मुलुकहरूमा प्रतिनिधि कार्यालयहरू पनि रहेका छन्।
साझा अर्थ संवाददाता