पात्रो

रेडियो

समाचार खोजी

लप्ची नजिक थाम्चेम्बूसम्म सम्म सडक पुग्यो

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

दोलखाः दोलखा जिल्लाको सबैभन्दा अन्तिम गाउँ लप्ची नजिक थाम्चेम्बूसम्म अब सिधै गाडी पुग्न सकिने भएको छ। लामाबगरबाट कठिन हुरहुरे भीर छिचोलेर निजी क्षेत्रले निर्माण गरेको सडकले गाडी यातायातलाई सीमानासम्म पुगाएको हो। विगू गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीले तामाकोसीमा बनेको बेली ब्रिज उद्घाटन गरेपछि यो मार्ग सञ्चालनमा आएको हो।

लामाबगरदेखि थाम्चेम्बूसम्म २० किलोमिटर लामो सडकमा ११ सय मिटरको सुरुङ, २ पुल र हुरहुरे भीर छिचोलेर मार्ग निर्माण गरिएको छ। यसअघि लामाबगरबाट लप्चीसम्म २ दिन पैदल यात्रा गर्नुपर्थ्यो भने अब सदरमुकामबाट एकै दिनमा पुग्न सकिने भएको छ। तामाकोसीमा बनेको ३९ मिटर लामो आधुनिक बेली ब्रिजले जलविद्युत आयोजनाका लागि ढुवानी सहज बनाएको छ।

लप्ची क्षेत्र बौद्ध ध्यानीहरूको परम्परागत केन्द्र रहेको छ जहाँ ५० भन्दा बढी ध्यान गुफाहरू रहेका छन्। यातायात सहज भएपछि पर्यटन बढ्ने र स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। साथै, यस क्षेत्रमा नासा हाइड्रोले १६० मेगावाटको लप्ची खोला जलविद्युत आयोजना र सानिमा हाइड्रोले ५६ मेगावाटको जुम खोला आयोजना निर्माण गरिरहेका छन्।

यसअघि सरकारले लामाबगर सुरुङ मार्ग निर्माणमा चासो नदेखाएपछि निजी क्षेत्रको लगानीमा यो सडक परियोजना अगाडि बढेको हो। अब थाम्चेम्बूबाट ५ घण्टा पैदल यात्रा गरेर नेपाल-चीन सीमानाको ५६ नं. पिलरसम्म पुग्न सकिने भएको छ।

 

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता