पात्रो

रेडियो

समाचार खोजी

नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ
। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यान (ICANN) को सहकार्यमा शनिबार काठमाडौंमा आयोजना गरिएको ‘UA
Hackathon Nepal 2025: Pioneering UA Ready Platforms’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला
चालेको हो । 
कार्यक्रममा सार्वजनिक गरिएको 'क्यान.संगठन' वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ । युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘UA-
ready’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ । ‍सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् । उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर
सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७०% नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए ।
कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको जनाए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गरिन् । कार्यक्रम सूचना प्रविधि विभाग, नेपाल सरकार; युनेस्को; एपीएनआईसी; नेपाल इन्टरनेट एक्सचेन्ज; वर्ल्डलिंक कम्युनिकेसन्स (इन्टरनेट पार्टनर); माभोरियन सिस्टम;
हिकोल कलेज; र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।
नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे । उनले .np डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्री/रजिस्ट्रार मोडमा लैजानुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमका अन्य वक्ताहरूले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने योजना रहेको जानकारी दिएन् । UA Hackathon Nepal का टिम लिड बिबेक सिलवालका अनुसार, “हाम्रो उद्देश्यकार्यक्रममार्फत जनमानसमा यो सन्देश दिनु थियो कि वेबसाइटको सामग्री मात्र होइन, वेबसाइटसम्म पुग्न प्रयोग हुने डोमेन र किवर्डहरू पनि नेपाली भाषामै सम्भव छन्।यसवेबसाइटको सुरुवात नेपाली डोमेन नेम उद्योगका लागि एक महत्वपूर्ण माइलस्टोन हो। अब हामीले सरकार, विशेषगरी डोमेन सम्बन्धी विभागको नेतृत्वमा बहुपक्षीय
मोडलमार्फत ' नेपाल' डोमेनका लागि आवेदन दिनतर्फ अघि बढ्नुपर्छ। साथै, वेबसाइटको सुरुवातसँगै ह्याकाथनको आयोजना गर्नुले हालै युवालाई नेपाली डोमेन र ईमेल स्वीकार गर्न सक्षम प्रणालीको निर्माण प्रक्रिया बारेमा जानकारी दिने प्लेटफर्म पनि प्रदान गरेको छ ।”
कार्यक्रम दुई सत्र मा सम्पन्न भएको थियो। पहिलो सत्रमा करिब १०० जना सहभागी भएका थिए, जसमा आम सरोकारवाला, नीति निर्माताहरू, र प्रविधिमा चासो राख्ने सहभागीहरूको सहभागिता थियो। कार्यक्रम क्यान महासंघको वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण (live streaming) समेत गरिएको थियो र Zoom मार्फत ५० जना अनलाइन सहभागी भएका थिए कार्यक्रम को एक मुख्य अंशको रूपमा UA Hackathon सत्र सञ्चालन गरिएको थियो, जसमा करिब ४० जना युवाहरू सहभागी थिए । कार्यशालामा सहभागीहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र प्रणालीले त्यसलाई कसरी स्वीकार गर्छ भन्नेबारे अभ्यास गरेका थिए ।

 

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता