पात्रो

रेडियो

समाचार खोजी

बज्रमादी जलबिद्युतमा एनएमबि र कृषि विकास बैकले पौने चार अर्ब लगानी गर्ने

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

एनएमबि बैंक र कृषि विकास बैंकले बज्रमादी जलविद्युत् आयोजनामा पौने चार अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । मादी गाउँपालिका, कास्कीमा रहेको २४.८ मेगावाट क्षमताको बज्रमादी जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने भएका हुन् । यसका लागि शुक्रबार जलविद्युत् प्रवद्र्धक बज्र इनर्जी भेन्चर्स प्रालि र दुई बैंकबिच वित्तीय व्यवस्थापनको सम्झौता भएको हो । 

पाँच अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान रहेको यस आयोजनाको एनएमबि बैंकले लिड बैंक र कृषि विकास बैंकले सदस्य बैंकका रूपमा कुल तीन अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भिजन लुम्बिनीको टिमको कामप्रति पूर्ण विश्वास भएकै कारणले नयाँ आयोजनामा पनि ऋण लगानीको नेतृत्व गरिएको बताए । 

आयोजनाका अध्यक्ष पोखरेलले परियोजनाको क्षमता ३१ मेगावाटसम्म विस्तार गर्ने तयारी भइरहेको र जसअनुसार उत्पादन पनि वार्षिक एक सय ८३ गिगावाट घण्टासम्म पुग्ने जानकारी बताए । आयोजनाको हाल स्वीकृत लागत पाँच अर्ब ३५ करोड रहेको छ भने स्तरोन्नति भएपछिको लागत ६ अर्ब ३५ करोड पुग्ने अनुमान गरिएको छ ।  

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले दुवै आयोजनामार्फत ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सक्रियता बढेको उल्लेख गर्दै सरकारको ऊर्जा विकास मार्गचित्रले लिएको लक्ष्य हासिल गर्न सहज हुने बताए । 

त्यसैगरी, सोही समूहको लगानीमा कास्कीको सेती नदीमा निर्मित २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको उद्घाटनसमेत गरिएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीले बनाएको उक्त परियोजना गत २७ कात्तिकदेखि नै सञ्चालनमा छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच डा. खतिवडाले उक्त परियोजनाको उद्घाटन गरेका हुन् । 

उक्त आयोजना एनएमबि बैंक लिमिटेडको अगुवाइमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् । प्रवद्र्धक कम्पनी फरक भए पनि यी दुई परियोजनाका प्रमुख लगानीकर्ता बैंक भने एकै हुन् । 
 

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता