फेशबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमाथि नेपाल सरकाराले प्रतिबन्ध लगाउने तयारी गरेको छ । शुक्रबार सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल नेपालको कानुनी दायरामा आउन अटेरी गरिरहेको र तोकिएको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने बताएका हुन् ।
दर्ताका लागि पटक–पटक आग्रह गरिरहे पनि फेसबुकलगायतका प्लेटफर्मले सरकारलाई समेत नटेरेको उनले बताए । सञ्चार मन्त्रालयले ११ मंसिर ०८० मा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका जारी गरेर सामाजिक सञ्जाललाई अनिवार्य दर्ताको व्यवस्था गरेको थियो । सोही निर्देशिकालाई टेकेर मन्त्रालयले पछिल्लो समय ७ चैतमा एक सूचना जारी गरेर एक महिनाभित्र सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन आह्वान गरेको थियो । सरकारले सूचीकृत हुन दिएको समयावधि आइतबार सकिँदै छ । तर, अहिलेसम्म भाइबर, टिकटक र विटक मात्रै दर्ता प्रक्रियामा आएका छन् । अन्य सञ्जालले भने दर्ताका लागि बेवास्ता गरेका छन् ।
साझा अर्थ संवाददाता