पात्रो

रेडियो

समाचार खोजी

अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्छ : अध्यक्ष ढकाल

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्ने बताएका छन् । महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए । उनले भने , ‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नुहुँदैन । यसलाई  सबैभन्दा माथि राख्नुपर्छ  । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्योभन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।’ 

विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिवेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे ।  प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । ‘म निराशा होइन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर, हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सिर्जना गर्न सकिँदैन तबसम्म निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने । 

पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए । विश्वव्यापी रूपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिस्पर्धी मुलुकहरूको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकाले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन् बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुकबाहिर छरिएर रहेको सानोसानो पुँजीलाई एकत्रित गर्दै ठुला आयोजनामा लगानी अवसर खोलिदिएको बताए ।  

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ