पात्रो

रेडियो

समाचार खोजी

मूल्यवृद्धि र लोडसेडिङले औद्योगिक तथा व्यवसायिक क्षेत्र समस्यामा : महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् । 

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशको उद्घाटनका अवसरमा बोल्दै उनले विकासका लागि नीतिगत स्थायित्वका साथसाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्न समेत आवश्यक भएको धारणा राखे । 

“निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । रोजगारी सिर्जना गरेको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ । तर पछिल्लो समय आम मानिसमा गलत भाष्य छर्ने गरि कतिपय गतिविधि भएका छन् । जसले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरेको छ । यसमा परिवर्तन आवश्यक छ ।” उनले भने । 

सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्र लगानीको वातावरण बन्नेमा विश्वस्त रहेको बताउँदै उनले यसको कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे । उनले यसबाट नेपालको व्यवसायिक गतिविधिमा सुधार ल्याउने आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने छ भन्ने निजी क्षेत्रले  विश्वास लिएको समेत बताए । 


नेपालमै ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेकोमा जोड दिँदै उनले निजी क्षेत्रको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनीको स्थापना गरी काम अगाडि बढाइएको बताए । 

अध्यक्ष ढकालले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताउँदै महासंघले व्यवसायिक वातावरण सुधार र लगानी प्रवर्द्धनलाई आफ्नो उच्च प्राथमिकतामा राखेको र यसमा सरकार र अन्य निकायहरुसंग समन्वय र सहकार्य खोजिरहेको धारणा राखे । 

आर्थिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न र लगानी बढाउन आग्रह गर्दै उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्योगहरूलाई प्राथमिकता दिन आगामी बजेटले सम्बोधन गर्न सरकारलाई  सुझाव दिए । 

पछिल्लो समय सिमेन्ट र फलामको मूल्यवृद्धि र लोडसेडिङ जस्ता समस्याहरूले औद्योगिक तथा व्यवसायिक क्षेत्र समस्यामा देखिएको चर्चा गर्दै उहाँले यसको तत्काल समाधान खोज्न पनि सरकारलाई आग्रह गरे । 

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्