पात्रो

रेडियो

समाचार खोजी

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

नवलपरासी (ब सु प), ८ चैतः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ । रु पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पालिका पुगेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताउनुभयो । पूर्वतयारीविना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको उहाँले बताउनुभयो । गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो तर शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्ष उपाध्यायको भनाइ छ । “यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकालमा यहाँ शीतभण्डार बनाइयो, जसकारण यसको प्रयोग हुनसकेको छैन । ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय हो । त्यसैले निजी क्षेत्रलाई ठेक्कामा दिएर यसको उपयोग गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो । 

   गाउँपालिका उपाध्यक्ष गीता चौधरीले निजी क्षेत्रबाट शीतभण्डार सञ्चालनका लागि कार्यविधि तयार गरिएको बताउनुभयो । गाउँपालिका आफैँले शीतभण्डार सञ्चालनका लागि धेरै प्रयास गरे पनि सफल नभएको उहाँले बताउनुभयो । “किसानलाई आलु, प्याज उत्पादनका लागि प्रोत्साहन गर्न अनुदानको कार्यक्रम पनि अगाडि सार्‍यौँ । त्यसका लागि चालु आर्थिक वर्षमा अनुदान दिनका लागि आलुमा रु १० लाख र प्याजमा रु चार लाख बजेट नै विनियोजन गरिएको छ । त्यसका लागि आवेदन पनि माग्यौँ तर किसानले चासो राखेनन्”, उपाध्यक्ष चौधरीले भन्नुभयो । 

   एक वर्षअघि शीतभण्डार गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । त्यसपछि पनि पालिकाले केही अधुरा काम सम्पन्न गरिसकेको छ ।    (रासस)

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्