८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेकोआयोजनामा सिद्धार्थ बैंकले एकल लगानी गर्ने वित्तीय व्यवस्थापन सम्झौतामा आज बुधबार हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको तर्फबाट एबीपी इनर्जी प्रालिका अध्यक्ष पूर्णलाल अमात्य र सिद्धार्थ बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आयोजनामा बैंकले १ अर्ब २३ करोड ऋण लगानी गर्ने छ। आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रहेको छ। आयोजनाबाट उत्पादित बिजुली हिउँदयाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा, तथा वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने गरि नेपाल विद्युत प्राधिकरणसँग पीपीए सम्झौता भईसकेको छ ।
प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका(१ ताँदीमा निर्माण हुनेछ । यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ।
यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।
एबीपी इनर्जीको संचालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेका छन्।
साझा अर्थ संवाददाता