म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँच जलविद्युत् आयोजना र स्थानीय सरोकारवालाबिच प्रभावित क्षेत्रको जीर्ण सडक स्तरोन्नति गर्ने सहमती भएको छ । गाउँपालिकामा ४० मेगावाटको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठुलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाटको राहुघाट मंगले, २१ दशमलब तीन मेगावाटको ठुलोखोला र ४८ दशमलव पाँच मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।
त्यसमध्ये बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि मौवाफाँट हुँदै बाँध रहने बुक्लसम्मको सडकलाई तत्काल ग्राभेलसहित स्तरोन्नति गर्न रघुगंगा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स लिमिटेडले आयोजनालाई सडक हस्तान्तरण गरेपछि कालोपत्रे गर्न हाइड्रोपावरले ८० प्रतिशत र अन्य आयोजनाहरूले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने सहमति भएको उनले बताए ।
त्यसैगरी, मौवाफाँटदेखि दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटो स्तरोन्नति गर्न तुँदी पावर, संयुक्त ऊर्जा र ठुलोखोला हाइड्रोपावरले चालू आवमै थप एक करोड ५० लाखबराबरको काम गर्ने सहमति भएको छ । आयोजना प्रभावित झिँ र पाखापानीमा समेत आयोजनाले चालू आवमै सडक स्तरोन्नतिमा २५–२५ लाख रुपैयाँ बजेट दिने भएको छ ।
साझा अर्थ संवाददाता