काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको देखाएको भन्दै उनले सरकारले उद्योग व्यवसायीहरुले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने बताए ।
‘रियल रोजगारी सिर्जना गर्ने प्राइभेट सेक्टर नै हो । आएलओका अनुसार करिव ८६ प्रतिशत रोजगारीको सिर्जना निजी क्षेत्रले दिएको छ । हामीले पहिलो प्राथमिकता उद्योग व्यवसाय बढाउने किसिमको वातावरण बनाउनु पर्यो । नेपाल सरकारका पोलिसी मेकरहरु यहाँहरुले वास्तवमा के गर्नु पर्यो भने र, वा, कमा, फुलस्टपको कारणबाट निजी क्षेत्रलाई डिसकरेज गर्नु भएन,’ उनले भने, ‘जब निजी क्षेत्रले निर्धक्कसँग काम गर्न सक्छ निर्धक्क रुपले उद्यमशीलता बढाउन सक्छ तब मात्रै रोजगारीको अवसर प्राप्त हुने भएको हुनाले त्यो वातावरण सिर्जना गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ढकालले उद्योग व्यवसाय बढाउन सकिने वातावरण निर्माण गर्नसके रोजगारी वढाउन सकिने र सोचे जस्तै पारिश्रमिक र सुविधा व्यवस्था गर्न सकिने बताए ।
साझा अर्थ संवाददाता