नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । केन्द्रीय कार्यालयमा वाकाथनको सुरुवात गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकले महिलालाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा उनीहरूको भूमिका महŒवपूर्ण रहेको उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले मार्च ८ मा मात्रै नभई महिनाभरि नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । ‘महिला पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसर उपलब्ध गराउन सदैव तयार छ ।’
बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीको सहभागिता थियो । उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।
साझा अर्थ संवाददाता