पात्रो

रेडियो

समाचार खोजी

जापान जाने युवालाई भाषा र सीप सिकाउन खुल्यो ग्लोबल स्किल ट्रेनिङ सेन्टर

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

 

जापान जाने कामदारलाई भाषा र सीपमा दक्ष बनाउने उद्देश्यसहित काठमाडौंको गैरीधारामा ‘ग्लोबल स्किल ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ। आइतबार जापानस्थित सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरो, आइएमजी कम्पनी लिमिटेड (सुजुरान अस्पताल ग्रुप)की अध्यक्ष मारिको यासुई र ९२ वर्षीय लक्ष्मण श्रेष्ठले ट्रेनिङ सेन्टरको उद्घाटन गरेका हुन्।

ग्लोबल स्किल ट्रेनिङ सेन्टरले जापान जान इच्छुक युवाहरूलाई जापानी भाषा, केयर गिभर, रेस्टुरेन्ट सेवा, स्काफ फोल्डिङलगायतका विभिन्न सीप प्रदान गर्ने बताइएको छ। जापानी भाषा मात्र नभई सीप पनि अत्यावश्यक भएकाले ट्रेनिङ सेन्टर स्थापना गरेको हार्भेस्ट मुन ग्रुप अफ कम्पनीजका अध्यक्ष राम श्रेष्ठले बताए।

‘दक्षताबिना विदेशमा गएर काम गर्दा धेरैले कठिनाइ भोग्नुपरेको छ, साथै न्यून तलबमा सीमित हुनुपरेको छ,’ उनले भने, ‘जापान पठाउनुअघि नै कामदारलाई आवश्यक सीप सिकाएर दक्ष बनाउने उद्देश्य छ, हामी विद्यार्थी मात्र होइन, दक्ष कामदार पनि जापान पठाउनेछौँ।’

चार वर्षभित्र एक लाख दक्ष जनशक्ति जापान पठाउने लक्ष्य
सुनागु होल्डिङका अध्यक्ष ताकेहिरोले आगामी चार वर्षभित्र एक लाख दक्ष जनशक्ति जापान पठाउने लक्ष्य राखेको बताए। जापानमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेको उनको भनाइ छ।

आइएमजी कम्पनी लिमिटेडकी अध्यक्ष यासुईले नेपाली कामदारलाई जापान उपयुक्त गन्तव्य भएको बताइन्। उनले भनिन्, ‘जापानमा दक्ष कामदारको ठुलो माग छ, योग्य र सक्षम कामदारलाई सजिलै रोजगारी मिल्छ ।’

ग्लोबल स्किल ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठनपाठन कक्षा, केयरगिभर प्रशिक्षणका लागि मेडिकल इक्विपमेन्टसहितको प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा छन्। कक्षाकोठाहरू ४० देखि १४० जना प्रशिक्षार्थी अट्ने क्षमताका छन्। साथै, पाँच सयभन्दा बढी व्यक्तिलाई समेट्न सक्ने हलसमेत छ।

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्