नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरूलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
आव ०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । गत आव ०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरूमा लगानी गरिरहेको छ।
प्राधिकरणले चालू आवको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ।
भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब नाै करोड रुपैयाँ आम्दानी गरिएको छ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ।
साझा अर्थ संवाददाता