सडक एवं सवारी दुर्घटनाका कारण हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न नेपालले नीतिगत व्यवस्था गर्ने अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रतिबद्धता व्यक्त गरेको छ ।
मोरोक्कोको मोरोकेस सहरमा १८ देखि २० फेब्रुअरीसम्म भएको सडक सुरक्षासम्बन्धी चौथो विश्व सम्मेलनमा नेपालले यस्तो प्रतिबद्धता गरेको हो । सम्मेलनमा सडक सुरक्षाको विषय विश्वव्यापी चुनौती बनिरहेको अवस्थामा सडक तथा सडकका संरचना निर्माणसँगै सुरक्षालाई पनि प्राथमिकता दिने नेपालको प्रतिबद्धता छ ।
नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले देशको समग्र विकासलाई सडक सुरक्षासँग समेत जोडेर अघि बढाइने पनि प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यस्तै, मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले सडक सुरक्षाका सम्बन्धमा नेपालको अभ्यास, अवस्था तथा आवश्यकताका सम्बन्धमा प्रकाश पारेका थिए । सम्मेलनमा नेपालको तर्फबाट मन्त्रालयका सचिव शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले भाग लिएको थियो ।
सचिव शर्मासहित मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, शुभराज न्यौपाने, उपसचिव शंकरसिंह धामी कार्यक्रममा सहभागी भएका थिए । यस्तै, नेपालमा सडक सुरक्षासम्बन्धी क्षेत्रमा कार्य गर्दै आएका संघ–संस्थाका प्रतिनिधि, अनुसन्धानकर्मीलगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा एक सय ३० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।
साझा अर्थ संवाददाता