अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएसँगै सडक विभागले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माणको काम तत्काल अघि बढाउने तयारी गरेको छ । मंगलबार अर्थ मन्त्रालयले बिपी राजमार्गको पुनर्निर्माणका लागि साढे आठ अर्ब रुपैयाँ स्रोत सहमति दिएको छ । योसँगै सडक विभागले त्यसको पुनर्निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको छ ।
अब छिट्टै टेन्डर आह्वान हुने विभागको भनाइ छ । त्यसमा निर्माण कम्पनीले ठेक्का प्रस्ताव गर्ने अवधि पनि कम राख्ने तयारी गरिएको छ । यसका लागि मन्त्रिपरिषद्सँग सहमति माग्ने तयारी छ । सडकको पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।
जापानको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भई ०७२ मा १६० किमि लामो ९धुलिखेल–सिन्धुली–बर्दीवास० यो सडक बनेको थियो । यसले पूर्वी नेपाललाई छोटो दूरीमा संघीय राजधानी काठमाडौंसँग जोड्छ । तसर्थ, सडक निकै महत्ववपूर्ण मानिन्छ । तर, बाढीले सडक क्षतिग्रस्त हुँदा त्यहाँबाट हुने यात्राबाट कष्ट भइरहेको छ । पुनर्निर्माण नहुँदासम्म त्यो समस्या कायमै हुने देखिएको छ ।
सडक पुनर्निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अनुमान गरिएको छ । त्यसबिचका बर्खामा त्यहाँको यात्रा कष्टकर नै हुने सडक विभागका अधिकारीहरू बताउँछन् । यद्यपि, बर्खामा सहज रूपमा यातायात सञ्चालन गराउन आवश्यक काम गर्ने उनीहरूको भनाइ छ ।
साझा अर्थ संवाददाता