काठमाडौं स् नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप प्रशोचन गर्ने भएको छ । आज माघ २० गते उक्त २१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब आजै परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी मिति फागुन ११ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले माघ १५ गते ३० अर्बको निक्षेप संकलन उपकरण जारी थियो । जसमा १२ बैंकहरुले २५ आवेदन मार्फत १५ अर्ब ५० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ १५ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ४४ पटकमा १६ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ उठाएको छ । यसमध्ये २ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ फिर्ता हुन बाँकी छ ।
साझा अर्थ संवाददाता