राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित रहेको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगत रूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्रीनिवास, बालुवाटारबाट भर्चुअल रूपमा उपस्थित भएका हुन् ।
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यस मार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदान–प्रदान गर्न शुभकामना दिए ।
यसअघि थानकोट–नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिरहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए । ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजोझैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ। हाम्रा प्रयासहरू यसैतर्फ केन्द्रित छन् ।’ कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए । ०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी उक्त सुरुङमार्गको ठेक्का लगाएको थियो ।
साझा अर्थ संवाददाता